Kathmandu Press

अङ्कुरी महादेव मन्दिरमा तामाको बसाहा स्थापना

सप्तरी, साउन १९ : सप्तरीको महादेवा गाउँपालिकास्थित प्रसिद्ध अङ्कुरी महादेवको मन्दिरमा ३० किलो तामा धातुको बसाहा स्थापना गरिने भएको छ। वैदेशिक रोजगारमा रहेका...
अङ्कुरी महादेव मन्दिरमा तामाको बसाहा स्थापना
फाइल तस्बिर

सप्तरी, साउन १९ : सप्तरीको महादेवा गाउँपालिकास्थित प्रसिद्ध अङ्कुरी महादेवको मन्दिरमा ३० किलो तामा धातुको बसाहा स्थापना गरिने भएको छ। वैदेशिक रोजगारमा रहेका युवाहरूद्वारा सङ्कलित रु दुई लाख २४ हजार नौ सय २३ लागतमा सोे बसाहाको प्रतिमा तयार गरिएकोे हो। 

सो मन्दिरका  पुजारी पवन गिरीले मन्दिरको गरिमा बढाउने र प्रचारित गर्ने उद्देश्यले मलेसिया, दुबई, कतार र साउदी अरेबियाको विभिन्न सहरमा रोजगारी गरिरहेका तिलाठी कोइलाडी गाउँपालिका–६ र ७ नं वडाका २० युवाहरूले प्रतिमाका लागि रकम सङ्कलन गरेको जानकारी दिए।  

बसाहाको प्रतिमा राख्ने स्थलको महादेवा गाउँपालिका अध्यक्ष सुनिलकुमार मण्डल र तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले आज संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ। गत फागुन १६ गते मन्दिर परिसरभित्र नवनिर्मित मन्दिरमा पार्वतीको मूर्ति स्थापना गरिएको थियो। 

अङ्कुरी महादेव मन्दिर राजविराज–हनुमाननगर सडकखण्डमा तथा तिलाठी कोइलाडीको सीमामा रहेको महादेवा गाउँपालिकामा पर्छ। विभिन्न शिवलिङ्गहरू कतैउत्खनन, निर्माण त कतै स्थापना गरिएको छ तर अङ्कुरी महादेव आफैँ माटोबाट निस्केको महादेवा गाउँपालिका–५ का चौठीलाल खंगखत्वेले बताए। मैथिलीमा उम्रिएकालाई अङ्कुर भनिने भएकाले माटोबाट उम्रेको दन्त्य कथाअनुसार अङ्कुरी महादेव नाम रहन गएको स्थानीवासीहरूको भनाइ छ।

मन्दिरको ख्याति बढ्दै गएकाले पछिल्लो समय भक्तजनको भीड बढदै गएको पुरोहित गङ्गाई यादवले बताउनुभयो। श्रद्धाका केन्द्रविन्दु भएकाले अङ्कुरी महादेवकै नामबाट पहिले पनि महादेवा गाविस नाम रहन गएको दशनीदेवी खंगले जानकारी दिए। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापश्चात सप्तरीको साविक महादेवासहित पकरी, डाढा, बथनाहार भगवतपुर गाविस समावेश गरिए पनि प्रसिद्धिका कारण गाउँपालिकाको नाम महादेवा नै रह्यो।

शिवभक्तका लागि प्रसिद्ध तीर्थस्थल अङ्कुरी महादेवा मन्दिरमा हरेक वर्ष शिवरात्रि र अनन्त चतुर्दशीजस्ता चाडमा ठूलो मेला लाग्छ। यो पवित्र यज्ञ गर्ने पवित्र स्थानसमेत भएको मन्दिर समितिका अध्यक्ष भोगेन्द्र राउतले बताए।

मुख्य मन्दिरमा शिवलिङ्ग छ भने अन्य मन्दिरमा देवी पार्वती र भगवान् हनुमानको मूर्ति छ। शिवलिङ्गको माथिल्लो भागमा मुट्ठीको आकारको दाँत छ। गाउँलेहरूका अनुसार यो ठाउँ धेरै पहिले श्मशान थियो र एक अलग ठाउँ थियो। वरपरका गाउँका केही गोठाला त्यहाँ जान्थे। उनीहरूले शिवलिङ्गलाई धेरैपटक आफ्नो घरमा ल्याए, तर शिवलिङ्ग आफ्नै ठाउँमा फर्किन्थ्यो भन्ने किंवदन्ती छ।

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, साउन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्