Kathmandu Press

नयाँ घर आँखै अगाडि दनदनी जलेपछि...

जुम्ला, मंसिर ८ : एकाएक घरमा आगलागी भएपछि चन्दननाथ नगरपालिका–२ कालेखोलीका विष्णु भण्डारी हेरिरहे। केही बोल्नै सकेनन्।

आइतबार मध्याह्न ....

नयाँ घर आँखै अगाडि दनदनी जलेपछि...
काठमाडौं प्रेस

जुम्ला, मंसिर ८ : एकाएक घरमा आगलागी भएपछि चन्दननाथ नगरपालिका–२ कालेखोलीका विष्णु भण्डारी हेरिरहे। केही बोल्नै सकेनन्।

आइतबार मध्याह्न उनको घरमा आगलागी भएको थियो। आगलागी हुने वितिक्कै परिवारका सदस्य बाहिर त निस्के तर निभाउन सकेनन्।

स्थानीय वासिन्दाले पनि आगो निभाउन कोसिस गरेका थिए। तर, माथिल्लो तलामा आगो लागेकाले निभाउने प्रयास सफल भएनन्।

छिमेकीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई खबर गरे। दमकलका लागि चन्दननाथ नगरपालिकामा फोन गरे।

केही सिप नलागेपछि घर जलेकाे हेरिरहेका स्थानीय वासिन्दा।

आगलागी भएको जानकारी दिने वितिक्कै न सुरक्षाकर्मी पुगे न त दमकल नै। जसले गर्दा आगो निभाउन सकिएन्। स्थानीय वासिन्दाको प्रयास पनि सफल भएन्।

जसले गर्दा बिष्णु र अन्य स्थानीय वासिन्दा आगो दनदनी भएको हेरिरहे, केही गर्न सकेनन्। ‘आँखै अगाडि घर जलेर खरानी भयो, जोगाउन सकिनँ,’ उनले पीडा पोखे। याे उनकाे नयाँ घर हाे।

स्थानीय वासिन्दा पनि उनका सरसामान, अन्नपात, भाँडाकुडा जोगाउने प्रयास गरेका थिए। तर, दनदनी बलेको आगोमा छिरेर सामान जोगाउन नसकेको स्थानीय अर्जुनले भण्डारीले बताए। ‘समयमै दमकल आएको भए त जोगिन्थ्यो होला तर ढिलो भयो,’ उनले गुनासो गरे।

दमकलकाे सहायताले आगाे निभाउन खटिएका सुरक्षाकर्मी र स्थानीय वासिन्दा।

जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन वलीले आगोबाट घर जोगाउन नसकिएको बताए। नगरपालिकाको दमकल, स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरी आगो नियन्त्रणमा लिए पनि घर जलेर नष्ट भएको बताए।

‘आगलागीबाट मानवीय क्षति त भएको छैन तर घरभित्रका लत्ताकपडा, अन्नपात र  भाँडाकुडा जलेर नष्ट भएका छन्,’ प्रहरी निरीक्षक वलीले भने। मध्याह्न सवा १ बजे सुरु भएकाे आगाे अहिले पनि पूर्णरुपमा नियन्त्रणमा आएकाे छैन।

नगरपालिकाको दमकल, स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी निभाउने काम गरिरहेकाे प्रहरी निरीक्षक वलीले बताए। आगलागी कसरी भयाे भन्ने खुलेकाे छैन।

प्रकाशित मिति: १५:४५ बजे, आइतबार, मंसिर ८, २०७६