बाह्रदशी र भद्रपुरले निःशुल्क रगत उपलब्ध गराउने
झापा, साउन १९ : झापा १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन्।चालु आर्थिक वर्ष...
झापा, साउन १९ : झापा १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन्।
चालु आर्थिक वर्ष २०७९/८० का लागि दुवै पालिकाले रगत अभावका कारण विपन्न नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी झापासँग निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरिसकेको जनाएका छन्।
नेरेसो झापा कार्यालयका अधिकृत हरिशरण खड्काले सम्झौता गरिएका पालिकाभित्र रहेका नागरिकमध्ये जोसुकैलाई रगत आवश्यक परेको खण्डमा नेरेसोले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क उपलब्ध गराइने जानकारी दिए।
उहाँले सम्झौता गरिएको पालिकाका बासिन्दा हो भन्ने विवरण खुलेको कागजात वा पालिकाले सिफारिस गरेको कागजातको आधारमा बिरामीलाई रगत उपलब्ध गराउने बताए । सम्झौता गरिएका पालिकाहरुले धरान, विराटनगरसम्मका अस्पतालमा रहेका बिरामीका लागि समेत जिल्लाका पायक पर्ने रक्तसञ्चार केन्द्रबाट रगत लैजाने सक्ने व्यवस्था गरिएको उनको भनाइ छ।
गत वर्ष जिल्लाका मेचीनगर नगरपालिका, बाह्रदशी, झापा गाउँपालिकाले नरेसोसँग एक वर्षका लागि निःशुल्क रगत उपलब्ध गराउनका लागि रु पाँच लाखका दरले रकम बुझाएका थिए। यस सेवाबाट सबैभन्दा धेरै मिर्गौलाका रोगीले रगत धेरै प्रयोग गरेको अधिकृत हरिशरण खड्काले जानकारी दिए।
चालु आर्थिक वर्षमा बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले मात्र हालसम्म सम्झौता गरिसकेको उनले बताए। उनका अनुसार झापा गाउँपालिकाले समेत पुनः सम्झौताका लागि पहल गरिरहेको छ।












