Kathmandu Press

सप्तरीमा एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

सप्तरीमा एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए
फाइल तस्बिर

सप्तरी, साउन १९ : लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन्।

आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन्। करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको सो कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

Hardik ivf

उनका अनुसार घटनामा १२ महिला, आठ पुरुष र छ बालक घाइते भए । ज्यान गुमाउनुको मुख्य कारण मानवीय लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ । बुधबार मात्र जिल्लाको कञ्चनरुपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको छ।

कञ्चनरुप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भन्ने सौदानन्द सरदारको समेत मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। घरआँगनमा रहेको ट्युबेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्यचौकी कञ्चनरुप लगिएको थियो । स्वास्थ्यचौकीमा परीक्षण गर्दा चिकित्सकले दुवै जनाको मृत्यु भएको घोषणा गरेका थिए। 

यसैगरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुःखी साहको छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, साउन १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्