सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको राष्ट्रसंघको चेतावनी
खार्तुम, साउन १९ : संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ। राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने...
खार्तुम, साउन १९ : संयुक्त राष्ट्रसंघले सुडानमा खाद्य संकट पर्नसक्ने चेतावनी दिएको छ। राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ।
यहाँ खाद्यान्नको अभाव टार्न आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो। सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो।
यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले यहाँको अवस्था नाजुक बन्दै गएकोले यहाँका नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ।
यहाँ जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुन सक्ने सो संस्थाले जनाएको छ।
हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ।
आगामी दिनमा यदि अहिलेजस्तै सङ्कट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ।












