Kathmandu Press

उदयपुरको बेलका कुनै पनि मानवीय क्षति भएको छैन : मन्त्री कार्की

विराटनगर, साउन १८ : सप्तकोसी नदीको बहाव उदयपुरको बेलका नगरपालिकातर्फ मोडिने क्रम जारी रहे पनि अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको प्रदेश नं...
उदयपुरको बेलका कुनै पनि मानवीय क्षति भएको छैन : मन्त्री कार्की
Hardik ivf

विराटनगर, साउन १८ : सप्तकोसी नदीको बहाव उदयपुरको बेलका नगरपालिकातर्फ मोडिने क्रम जारी रहे पनि अहिलेसम्म कुनै पनि मानवीय क्षति नभएको प्रदेश नं १ सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले बताएका छन।

उनले घटनास्थलको स्थलगत निरीक्षणपछि भने, 'कोसी नदीमा पानीको बहाव बर्सातमा निर्भर गर्छ, यदि वर्षा भएन भने कोसी नदीको पानीलाई नियन्त्रण गर्न सकिन्छ, यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले युद्धस्तरमा काम गरिरहेका छन्।'

कोसी नदीको पानीले अहिले बेलका नगरपालिकाको वडा नं १, २, ३, ८ र ९ लाई असर पार्ने देखिन्छ भन्दै मन्त्री कार्कीले अहिलेसम्म एक हजार ५०० जनालाई सुरक्षित स्थानमा लगी उनीहरुको बास, खानपिन र स्वास्थ्यको प्रबन्ध मिलाइएको जानकारी दिए।
    
कोसी नदीमा आएको बाढीले जमिन कटान गरेको तर कुनै पनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको मन्त्री कार्कीले जानकारी दिए। उनले कोसी नदीले अरु दुःख नदेओस् भनेर सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नेपाली सेना तथा सशस्त्र प्रहरी प्रमुखले आआफ्नो क्षेत्रबाट सक्दो प्रयास भइरहेको जानकारी दिए।
    
उनले बेलका क्षेत्रमा भैँसीपालन, कुखुरापालन, गाई फार्म सञ्चालन गर्ने मानिसले आफ्ना फार्म छाडेर हिँड्न नमानेको अवस्थालाई ध्यान दिएर त्यस क्षेत्रमा प्रहरी प्रशासनको निगरानी एवं परिचालन बढाइएको स्पष्ट पारे।
    
बर्सातमा तीन लाख ५० हजार क्युसेक पानी बहने सप्तकोसी नदीमा अहिले पानी कति छ त्यो जानकारी नभए पनि सप्तकोसी नदीले उदयपुरको बेलका क्षेत्र र सुनसरीको बराह गाउँपालिकामा असर पार्ने अवस्था सिर्जना भएको छ।
    
सप्तकोसी नदीले बेलकालाई चिरेर बाहिर निस्कने हो भने सो पानी उदयपुरको त्रिजुगा नदी, पुरन्दह र सप्तरीको कञ्चनपुर र फत्तेपुरसम्म असर गर्ने प्रारम्भिक अनुमान देखिएको सडक पूर्वाधार तथा सहरी विकासमन्त्री कार्कीले जानकारी दिए।
    
विसं २०६५ भदौ २ गते सुनसरीको पश्चिम कुसहातर्फको बाँध भत्किएपछि नेपाल र भारततर्फ धेरै ठूलो जनधनको क्षति भएको थियो।

प्रकाशित मिति: २०:५१ बजे, बुधबार, साउन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्