बर्खाले सुनसान बने होमस्टे
गलकोट, साउन १८ : बर्खा लागेपछि बागलुङका होमस्टे पाहुनाविहीन बनेका छन्। असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा...
गलकोट, साउन १८ : बर्खा लागेपछि बागलुङका होमस्टे पाहुनाविहीन बनेका छन्। असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन्।
बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय होमस्टे निकै प्रभावकारी छ। बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिराका घटनामा वृद्धिका कारण होमस्टेमा कमैमात्र पर्यटक पुग्न थालेका हुन्।
महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका होमस्टे कोरोनापछि राम्रै चलेका थिए। असारपछि भने जिल्लामा राम्रै नाम कमाएका होमस्टे सुनसान छन्।
बर्खामा होमस्टेमात्रै होइन, जिल्लाका पर्यटकीयस्थल तथा होटल व्यवसायसमेत सुनसानजस्तै छन्। जिल्लाको चर्चित घरबासमध्येको अतिथि सत्कार होमस्टे, भकुण्डे, किकल्टा होमस्टे ताराखोला, काठेखोला गाउँपालिकास्थित धम्जाको बेलढुङ्गालगायत होमस्टेसमेत बर्खा लागेपछि सुनसानजस्तै छन्।
अहिले बर्खा लागेपछि कमै मात्रमा पाहुना आउने गरेको भन्दै भकुण्डेस्थित अथिति सत्कार होमस्टेका सञ्चालक अप्सरा थापाले भदौपछि मात्रै आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताइन्।
यो सयम होमस्टेका लागि समेत खासै राम्रो सिजन नभएको बताउँदै बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक होमस्टेका सञ्चालक गोपाल श्रीषले अब दशैँ–तिहारको सिजनलाई तयारी थालेको बताए। 'होमस्टेमा पूरै अर्ग्यानिक उत्पादन खुवाउने गरिन्छ, अहिले आलु थन्क्याउने चटारोसमेत छ, बाँकोको सिन्की बनाउने कामसमेत भइरहेको छ,' श्रीषले भने, 'दशैँ–तिहारको सिजनमा आउने पाहुनालाई अर्ग्यानिक उत्पादन खुवाउनका लागि आजैदेखि सङ्कलन तथा भण्डारणमा जुटेका छौँ, अहिले स्थानीय खसीबोका, कुखुरासमेत तयारी गरिएको छ।'
श्रीषले पाहुनालाई खुवाइने अर्ग्यानिक उत्पादनमा जोड दिँदै यहाँका किसानले भाङ्गो, आलु र सिन्की भण्डारण गरिरहेको बताए। जिल्लामा रहेका २८ सामुदायिक होमस्टेमध्ये अधिकांश पाहुना एक दर्जन होमस्टेमा पुग्ने गरेका छन्।
भौगोलिकरूपमा सुन्दर, ताल, झरना तथा दृश्यावलोकन भएको स्थानका होमस्टे राम्रोसँगै चलेका छन् भने सञ्चालकले समेत मनग्य आम्दानी गर्दै आएका छन्। ताराखोलाको ठूलोहिले होमस्टमा जङ्गली रातो च्याउको जोहो भइरहेको र अर्नाकोट घरबासमा बाकोको सिन्की बनाउने काम चलिरहेको छ। ताराखोलामा उत्पादन भएको जङ्गली रातो च्याउको स्वाद लिनकै लागि घरबासमा पाहुना पुग्ने गरेका छन् भने ताराखोलाको किकल्टा घरबासमा सिस्नोको परिकार खानका लागि पाहुना त्यहाँ पुग्ने गरेका छन्।
जिल्लाको चर्चित पर्यटकीय गन्तव्यका रूपमा रहेको ढोरपाटन उपत्यका आसपासमा खुलेका आधा दर्जन होमस्टेसमेत अहिले सुस्ताएका छन्। जिल्लाका अधिकांश होमस्टेका सञ्चालक खेतीपातीको काममा व्यस्त हुने गरेका छन्।
अठ्ठाइस सामुदायिक होमस्टेमध्ये रेशको माहुरी झरना होमस्टे, अर्नाकोट होमस्टे, किकल्टा होमस्टे, तोरीखोला होमस्टे तथा अतिथि सत्कार होमस्टेमा बढी मात्रमा पहुना पुग्ने गरेका छन्। सबै होमस्टेका आफ्नो अर्ग्यानिक स्वाद तथा कला संस्कृति रहेको छ। (रासस)












