Kathmandu Press

दोलखाबाट ८० हजार किलोभन्दा बढी जडीबुटी निकासी

दाेलखा, साउन १७ : गत आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ।गत आवमा जिल्लाको...
दोलखाबाट ८० हजार किलोभन्दा बढी जडीबुटी निकासी

दाेलखा, साउन १७ : गत आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ।

गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन क्षेत्रबाट ८० हजार सात सय ४४ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत थिरबहादुर कार्कीले बताए।

हिमाली जिल्ला दोलखामा मजितो, चिराइतो, लोक्ता, धसिङ्गरेजस्ता विभिन्न प्रजातिका जडीबुटी सङ्कलन गरी निकासी गर्ने गर्दछ। वन कार्यालय प्रमुख कार्कीका अनुसार एक वर्षको अवधिमा सामुदायिक वनबाट ११ हजार दुई सय ३७ किलो र निजी वनबाट ६९ हजार पाँच सय सात किलो जडीबुटी सङ्कलन गरी जिल्ला बाहिर निकासी गरिएको हो।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सामुदायिक वनबाट मझिठो दुई हजार एक सय ५३ किलो, अर्गेली चार हजार चार सय ९५ किलो, लोक्ता तीन हजार दुई सय ४२ किलो र चिराइतो एक हजार तीन सय ४७ किलो निकासी भएको छ।

त्यस्तै निजी वनबाट चुत्रो ४० हजार पाँच सय ७४ किलो, मझिठो पाँच हजार नौ सय ११ किलो, अर्गेली नौ हजार नौ सय ८५ किलो, लोक्ता दुई हजार किलो, धसिङ्गरे नौ हजार तीन सय ७५ किलो, चिराइतो छ सय १३ किलो र उनिउ एक हजार ४९ किलो निकासी भएको कार्यालयको तथ्याङ्क रहेको छ।

जिल्लामा सङ्कलित यी विभिन्न प्रजातिका जडीबुटी औषधिका लागि नेपालका विभिन्न ठाउँमा निकासी हुने गरेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। जिल्लामा तीन सय ८१ वटा सामुदायिक वन, एक सय ६४ कबुलियती वन र दुई वटा धार्मिक वन रहेका छन्। सामुदायिक वन २८ हजार आठ सय ९७ हेक्टर, कबुलियती वन ८३ हजार तीन सय ४४ हेक्टर र धार्मिक वन छ सय २१ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित मिति: २०:५३ बजे, मंगलबार, साउन १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्