Kathmandu Press

नेता-कार्यकर्ताको उत्साह देखेर आजै चुनाव जितेजस्तो महसुस भयो : प्रचण्ड

गलकोट, मंसिर ७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताले राष्ट्रियरूपमै एकताको सन्देश दिएको बताएका छन्....

नेता-कार्यकर्ताको उत्साह देखेर आजै चुनाव जितेजस्तो महसुस भयो : प्रचण्ड
फाइल

गलकोट, मंसिर ७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताले राष्ट्रियरूपमै एकताको सन्देश दिएको बताएका छन्। 

नेकपा र राष्ट्रिय जनमोर्चाले शनिबार बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका  अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश गएको बताएका हुन्।
 
“नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन”, उनले भने,“अब कम्युनिष्टहरु फुटेर होइन, जुटेर अगाडि बढेको सन्देश वाम गठबन्धनले दिएको छ।” एकताको प्रतीकका रुपमा बागलुङको वाम गठबन्धनलाई हेर्न सकिने बताउँदै प्रचण्डले केन्द्रले दिएको जिम्मेवारीअनुसार नेकपाले राजमोलाई सर्मथन गरी अत्यधिक मतले साझा उम्मेदवार खिमविक्रम शाहीलाई विजयी गराउन आग्रह गरे। 

प्रचण्डले उपस्थित नेता–कार्यकर्ताको उत्साहलाई देखेर आजै निर्वाचन जितेजस्तै भएको महसुस भएको बताए। 

फरक प्रसङ्गमा उनले अहिले भारतले मिचेको भूमि नेपालकै भएको भन्दै भ्रममा नपर्न जनतालाई आग्रह गर्दै सरकारले सीमा समस्या समाधान गर्ने बताए। 

बागलुङ क्षेत्र नं २ को (ख) बाट निर्वाचित प्रदेश सांसद टेकबहादुर घर्तीको निधनपछि यस क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। यसअघिको निर्वाचनमा तत्कालीन (एमाले), (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारका रुपमा घर्तीलाई विजयी गराएको थियो।  अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट शाहीले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: १६:४८ बजे, शनिबार, मंसिर ७, २०७६