भक्तपुरमा सङ्क्रमितको सङ्ख्या बढ्यो
भक्तपुर, साउन १६ : भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आइतबार साँझसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३८...
भक्तपुर, साउन १६ : भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आइतबार साँझसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३८ पुगेको छ। गत असार १६ गते ९ जना सक्रिय कोरोना सङ्क्रमित रहेको भक्तपुरमा एक महिनाको अवधिमा सो सङ्ख्यामा सङ्क्रमित बढेको हो।
सक्रिय सङ्क्रमितमध्ये भक्तपुर र चाँगुनारायण नगरपालिकाका एकरएक महिला गरी दुईजना अस्पतालको आइसोलेशनमा उपचाररत छन् भने ७९ पुरुष र ५७ जना महिला गरी कूल एक सय ३६ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सविता पुर्कोटीले जानकारी दिइन्।
उनका अनुसार भक्तपुरमा साउन १० गते ९९ जना, साउन ११ गते एक सय १४, साउन १२ गते एक सय २०, साउन १३ गते एक सय ३१ जना सक्रिय सङ्क्रमित थिए । भक्तपुरमा हालसम्म २१ हजार पुरुष र १८ हजार एक सय ९१ महिला गरी कूल ३९ हजार एक सय ९१ जना कोरोना सङ्क्रमित भइसकेका छन् । तीमध्ये २० हजार ६८० पुरुष र १७ हजार नौ सय ९५ महिला सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये दुई सय ४१ पुरुष र एक सय ३७ महिला गरी कूल तीन सय ७८ जनाको मृत्यु भइसकेको छ।
भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा धेरै मध्यपुरथिमि नगरपालिकाका एक सय १२ जना छन् । तीमध्ये ७५ पुरुष र ३७ महिला छन् । सूर्यविनायक नगरपालिकामा ७१ पुरुष र ४० महिला गरी एक सय ११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भक्तपुर नगरपालिकामा ५२ पुरुष र ३५ महिलागरी ८७ जना र चाँगुनारायण नगरपालिकामा ४३ पुरुष र २५ महिला गरी ६८ जनाको मृत्यु भएको जनस्वास्थ्य अधिकृत पुर्कोटीले बताइन्।












