Kathmandu Press

निर्माण व्यवसायी भोलिदेखि पुनः सरकारविरुद्ध आन्दोलनमा उत्रिने

काठमाडौं, मंसिर ७ : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भोलिबाट पुनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट पारेका छन्। आफूहरुको माग पूर....

निर्माण व्यवसायी भोलिदेखि पुनः सरकारविरुद्ध आन्दोलनमा उत्रिने

काठमाडौं, मंसिर ७ : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भोलिबाट पुनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने स्पष्ट पारेका छन्। आफूहरुको माग पूरा गर्नतर्फ सरकार जिम्मेवारी नभएको उनको गुनासो छ। 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष सिंहले निर्माण व्यवसायीहरुले गरेका काम समयमै सम्पन्न नहुनु र गुणस्तर नहुनुमा आफूहरुको मात्रै दोष नभएको स्पष्ट पारे।

उनले भने,‘निर्माण कार्य टेण्डर गर्नुभन्दा अगाडि गर्नुपर्ने कार्यमा त्रुटि भएको हुँदा धेरैजसो निर्माण कार्य समयमै सम्पन्न हुन सकेका छैनन्। सबैभन्दा पहिलो कारण त सरकारले कुनैपनि निर्माण कार्य टेण्डर आह्वान गरेपछि त्यसको स्रोतको सुनिश्चितता नभई आह्वान गर्ने, त्यसपछि आफ्नो जिम्मेवारी त्यत्तिकैमा सीमित राखेको कारणले गर्दा धेरैजसो कामहरु समयमै सम्पन्न हुँदैनन्।’

बजेट अनुसारको निर्माण कार्यको एस्टिमिट कार्य हुँदाखेरि समयमै काम सम्पन्न भएको उनको भनाइ छ। उनले भने,‘सरकारले यसतर्फपनि ध्यान दिनुपर्छ। सार्वजनिक खरिद नियामावली छैटौं संशोधनले धेरै कुरा समेटेको छ। तर, संशोधनका कतिपय बुँदाहरु जस्तो कुनैपनि निर्माण कार्यको समयावधि त्यसको मूल समायवधिको ५० प्रतिशत भन्दा वृद्धि गर्न पाईँदैन् भनेर उल्लेख गरिएको छ। त्यही कारणले गर्दा अहिले सुचारु भैरहेका अधिकांश निर्माण कार्यहरु बन्द भैरहेका छन्।’

अध्यक्ष सिंहले सार्वजनिक खरिद नियमावालीको छैटौं संशोधन ल्याउने बेलामा निर्माणसँग सम्बन्धित कुनैपनि निकाय र सरोकारवालाहरुसँग छलफल तथा सहमति नगरिएको गुनासो पोखे। उनले भने,‘सरकारले आफैंले ल्याएको छैटौं संशोधनका कारण मुलुकभरिका निर्माण कार्य ठप्प भएका छन्।’

उनले सार्वजनिक खरिद नियमावली पटक–पटक संशोधन हुँदै आएपनि व्यवसायीको माग सम्बोधन नभएको कारण महासंघले पुनः आन्दोलन गर्ने भएको स्पष्ट पारे। सिंहले सरोकार भएका निकायबाट व्यवसायीको माग सम्बोधन नभएकाले आन्दोलनमा जान बाध्य हुनुपरेको बताए।

उनले भने,‘गत साउन १६ गते नेपाल राजपत्रमा तेस्रो पटक संशोधन गरी प्रकाशित सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ मा केही सकारात्मक प्रावधान रहेतापनि तिनको कार्यान्वयन नभएको महासंघको ठहर छ। विशेषगरी म्याद थप तथा बैंक क्रेडिट लाइनमा देखिएको समस्याका कारण समग्र निर्माण क्षेत्र प्रभावित हुँदा देशको अर्थतन्त्रमा नै समस्या देखिएको छ।’

आफूहरुले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटासँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको उनले सुनाए। सिंहले भने,‘सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवसँग हाम्रो सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको छ, नवनियुक्त मन्त्रीज्यूसँगपनि हिजो भेटवार्ता गर्यौं। उहाँले भौतिक पूर्वाधारमैत्री ऐन, कानूनी ल्याउँछु भन्नुभएको छ।’ 

उनले निर्माण व्यवसायी आन्दोलित हुँदा अहिले डण्डी, सिमेन्ट उद्योग मृत अवस्थामा रहेको बताए। उनले भने,‘अहिले काम गर्ने सिजन हो। म्याद थप भएन। २ हजारभन्दा बढी आयोजनाहरुको भविष्य अन्योलमा छन्। बैंकिङ तरलता छन्। निर्माण उद्योग ठप्प छ। अहिले हामीले स्थगित गरेको आन्दोलन पुनः सुरु गर्दैछौँ।’

प्रकाशित मिति: १५:३९ बजे, शनिबार, मंसिर ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्