पहिराले नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध
नवलपुर, साउन १६ : अविरल वर्षाका कारण झरेको पहिराका कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ। नवलपुरको दलदले–कुमसोत– पोखरी हुँदै पहाडी गाउँपालिका...
नवलपुर, साउन १६ : अविरल वर्षाका कारण झरेको पहिराका कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ।
नवलपुरको दलदले–कुमसोत– पोखरी हुँदै पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार जाने बाटो पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५, पाङ्गे्रमा पहिरो खसेका कारण बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ, पानी परिरहेको र पहिरो झर्ने क्रमसमेत नरोकिएकाले तत्काल यो सडकखण्ड सञ्चालन हुने सम्भावना नरहेको उनको भनाइ थियो।
जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक पहिराले अवरुद्ध भएपछि दुई गाउँपालिकाको सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ।
यो सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षाको समयमा पहाडी क्षेत्रको यातायात सम्पर्क सदरमुकामसँग टुटदै आएको छ । पांग्रेसहित पोखरी–डेढगाउँ र पोखरी–बुलिङखण्डमा समेत यातायात सञ्चालन कठिन भएको छ । अन्य स्थानमा समेत ठाउँठाउँमा साना साना पहिरो झेरको छ।
यसैगरी पहाडी क्षेत्रको वैकल्पिक मार्गका रुपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हँुदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो र यस खण्डमा पर्ने खोलाहरूमा आएको बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पाठकले बताए।
दुवै तर्फका सडक तत्काल पूर्णरुपमा सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको उहाँले जानकारी दिए। पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान– खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएकोे छ।
यता पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिराका कारण राजमार्ग अवरुद्ध हुँदा एकतर्फी यातायात सञ्चालन गरिएको छ । पहिरो पन्छाउने काम चलिरहेको र राजमार्ग पूर्णरुपमा सञ्चालन हुन समय लाग्ने प्रहरी नायब उपरीक्षक पाठकले बताए।












