लसुनले मूल्य पाएन
रुकुम (पूर्व), साउन १६ : लसुनको पकेट क्षेत्र रुकुम (पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो...
रुकुम (पूर्व), साउन १६ : लसुनको पकेट क्षेत्र रुकुम (पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ। अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि रु ६० पर्छ।
चुनवाङका लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो रु १००का दरले लसुन बिक्री गर्न चाहन्छन्। एक किलोको रु. १००मा कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घरघरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताए।
अहिले आफूसँग मात्रै १० क्विन्टलको हारहारीमा लसुन भएको उनको भनाइ थियो। गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गर्नुभएको खड्काले अहिले भने उत्पादन घटेको बताए। यस वर्ष उचित मूल्य नपाएकै कारण अलिकति पनि लसुन बिक्री नभएको किसान खड्काले बताए।
उनका अनुसार अहिले चुनवाङका प्रत्येक घरमा तीन देखि १० क्विन्टलको हारहारीमा लसुन छ। चुनवाङकै पूर्ववडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको तर बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताए।
बजारमा चलेको मूल्यमा दिने हो भने गाउँभरिको सबै लसुन सङ्कलन गरिदिने तर बजार मूल्यभन्दा महँगोमा लसुन सङ्कलन गर्न नसकिने उनको भनाइ थियो।
यस वर्ष चुनवाङमा ४३२ दशमलब ३५ मेट्रिकटन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए। उनकाअनुसार यो उत्पादन गत वर्षको तुलनमा १२ दशमलव १३ प्रतिशतले बढेको हो। चुनवाङको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ।
-1786430634.png)










