Kathmandu Press

पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दी, साउन १६ : पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन्। जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन...
पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

म्याग्दी, साउन १६ : पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन्। जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।

बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको बताए।

Hardik ivf

मालढुङ्गा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको उनले बताए। म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर गए रातिदेखि सवारी साधन चलेका छैनन्। मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि निर्माणाधीन अवस्थामा छ।  

बेनीदेखि पोखरा, काठमाडौँलगायत शहरमा जाने आउने सवारी साधनलाई बागलुङ–बेनीको वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी–जोमसोम सडक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ।

जलेश्वरमा पहिरोले सडक कटान, बेगखोला र रुप्सेमा बाढी तथा नैनीबगरमा पहिरो खसेर अवरुद्ध बनेको हो। यसैगरी मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि घुमाउने भिर र बाङ्गेपहिरोमा अवरुद्ध बनेको छ।

दुवै ठाउँमा पहिरो खसेर यातायातका साधन आवतजावत गर्न नसक्ने अवस्था छ। बेनी–जोमसोम–कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, स्थानीय तह र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास गरे पनि निरन्तरको बर्सातका कारण समस्या भएको छ।

त्यस्तै, म्याग्दी, कालीगण्डकी, राहुघाट र अन्य सहायक नदीमा बाढीको सतह बढेको छ। तटीय क्षेत्र तथा पहिराको जोखिममा रहेका ठाउँका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले अनुरोध गरेका छन्। (रासस)

प्रकाशित मिति: ०८:०२ बजे, सोमबार, साउन १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्