Kathmandu Press

मेची प्रादेशिक अस्पतालको सेवा सुधारका लागि ३५ बुँदे मागसहित ज्ञापनपत्र

बनियानी, साउन १५ : झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सेवा सुधारका लागि ३५ बुँदे ज्ञापनपत्र बुझाइएको छ। अस्पताल विकास समितिको हेलचेक्र्याइँँ, चिकित्सक र...
मेची प्रादेशिक अस्पतालको सेवा सुधारका लागि ३५ बुँदे मागसहित ज्ञापनपत्र

बनियानी, साउन १५ : झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सेवा सुधारका लागि ३५ बुँदे ज्ञापनपत्र बुझाइएको छ। अस्पताल विकास समितिको हेलचेक्र्याइँँ, चिकित्सक र कर्मचारीको लापरबाहीले आमनागरिकले सर्वसुलभ स्वास्थ सेवाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै मेची प्रादेशिक अस्पताल सुधार समितिले आज अस्पताल विकास समितिलाई ज्ञापनपत्र बुझाएको हो।

सुधार समितिका अध्यक्ष दीपक तिम्सिना, नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीका अध्यक्ष शिवकुमार राजभण्डारी, माओवादी केन्द्र झापा क्षेत्र नं ३ का अध्यक्ष डिल्ली घिमिरे हिक्मतलगायतको टोलीले अस्पताल विकास समितिका अध्यक्ष विश्व बराल र मेडिकल सुपरिटेन्डेन्ट डा टङ्क बाराकोटीलाई उक्त ज्ञापनपत्र बुझाएको हो।

'अस्पतालको विविध क्षेत्रमा सुधारको माग गर्दै स्वास्थ सेवालाई चुस्तदुरुस्त र नियमित बनाउने उद्देश्यले ज्ञापनपत्र बुझाएका हौँ,' अध्यक्ष तिम्सिनाले भने, 'ल्याब, सरसफाइ, खानपिन, व्यवस्थापन जताततै समस्या छ, सोको सुधार हुनुपर्ने हाम्रो माग हो।'

ज्ञापनपत्रमा मेची प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्न पहल गर्न, नवजात शिशुको उपचारमा समस्या भएकाले तुरुन्त एनआइसीयुको व्यवस्था गर्न, ल्याबमा प्राविधिकको लापरबाही र अदक्ष जनशक्तिका कारण रिपोर्ट गलत आउने गरेकाले दक्ष कर्मचारीको व्यवस्थापन गर्न, अस्पतालका विभागीय प्रमुखहरुले अस्पताल नजिक निजी क्लिनिक, फार्मेसी, ल्याब र रेडियोलोजी सञ्चालन गर्न नपाउने व्यवस्था गर्न लगायतको माग उल्लेख छ।

ज्ञापनपत्र बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष बरालले अस्पताल सुधारका लागि केही काम थालिएको र थप काम अघि बढाइएको बताए। उनले अस्पतालको सेवा सुविधा चुस्तदुरुस्त बनाउने प्रतिबद्धता जनाए।

सुधार समितिले उक्त ज्ञापनपत्रको बोधार्थ प्रदेश नं १ को स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकालाई दिएको छ। अस्पताल सुधारका माग तीन साताभित्र पनि पूरा नभए दबाबमूलक कार्यक्रम गर्ने समितिले जनाएको छ।

प्रकाशित मिति: १८:४० बजे, आइतबार, साउन १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्