पाँच वर्षभित्र निजगढबाट सिधैँ अमेरिका उड्न सक्छौँ : पर्यटनमन्त्री भट्टराई
काठमाडौं, मंसिर ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अबको पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ अमेरिक....

काठमाडौं, मंसिर ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अबको पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ अमेरिका जान सकिने बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित अन्तक्र्रियामा मन्त्री भट्टराईले निजगढ विमानस्थल सञ्चालनमा आएपछि सिधैँ अमेरिका उड्न सकिने बताएका हुन्।
उनले अबको एक महिनाभित्रमा चार किल्ला राख्ने, विमानस्थलका निर्माणका लागि काट्नुपर्ने रूखको संख्या एकीन हुने भएकाले पीपी मोडलमा विमानस्थल निर्माणको प्रक्रिया सुरू हुने बताए। मन्त्री भट्टराईले बजारमा हल्ला फैलिए अनुसार २५ लाख रूख नकाटिने भएकाले हल्लाको पछि नलाग्न समेत आग्रह गरे।
‘विमानस्थल निर्माणका लागि स्वीट्जरल्याण्डको कम्पनीले इच्छा देखाएको छ। उसले विमानस्थल निर्माण नगरे सरकार आफैँले निर्माण गर्न सक्छ,’ उनले भने,‘अन्य देश इच्छुक नभए सरकार आफैँले भए पनि निजगढ विमानस्थल निर्माण गर्ने सहमति भएको छ।’
उनले जनवरी १ तारिखमा काठमाडौं र सातै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्षको सुभारम्भ कार्यक्रम हुने बताए। उनले त्यसका लागि ४० देशका पर्यटन मन्त्रीलाई निमन्त्रणा गरिएको समेत जानकारी दिए।
भ्रमण वर्षका लागि नेपाल सरकार, पर्यटन बोर्ड र अर्थ मन्त्रालयवाट गरी ६५ करोड बजेट छट्याइएको उनले बताए।











