उच्च अदालतले मगायो महरालाई जेल पठाउने जिल्ला अदालतको आदेश
काठमाडौं, मंसिर ६ : उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश झिकाउने आदेश गरेको छ....
काठमाडौं, मंसिर ६ : उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश झिकाउने आदेश गरेको छ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले बलात्कार मुद्दाका आरोपी महरालाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश दिएको हो।
बलात्कार मुद्दामा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको निर्णयविरुद्ध निवर्तमान सभामुख महरा बिहीबार उच्च अदालत पुगेका थिए। उच्च अदालत पाटनका सूचना अधिकारी मोहन सुवेदीले उच्च अदालतलले महरालाई थुनामा पठाउने फैसलाको ‘कैफियत प्रतिवेदन’ मगाउन जिल्ला अदालतलाई पत्र लेखिने छ।
संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको मुद्दामा जिल्ला अदालतका काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
जिल्ला अदालत काठमाडौंको आदेशसँगै महरालाई गत कात्तिक १८ गते डिल्लीबजारस्थित कारागार चलान गरिएको थियो। जिल्ला अदालतको आदेश बदर हुने वा नहुने निर्णय अर्को सुनुवाइमा हुनेछ।
यसअघि महरामाथि बलात्कार प्रयासमा ५ वर्ष र आफू मातहतको कर्मचारीमाथि बलात्कार प्रयास भएकाले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैदको माग गर्दै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो।
महरा बलात्कारको आरोपमा गत असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए।






