विशेषज्ञसहित शल्यक्रिया सेवा पुनः सञ्चालनमा
दोलखा, साउन १४ : दोलखाको भीमेश्वर नगरपालिकामा रहेको बागमती प्रदेशअन्तर्गतको पशुपति चौलागाईँ स्मृति अस्पतालमा विशेषज्ञसहित शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ।कर्मचारीको करार अवधि...
दोलखा, साउन १४ : दोलखाको भीमेश्वर नगरपालिकामा रहेको बागमती प्रदेशअन्तर्गतको पशुपति चौलागाईँ स्मृति अस्पतालमा विशेषज्ञसहित शल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ।
कर्मचारीको करार अवधि नवीकरण नभएपछि साउन १ गतेदेखि शल्यक्रिया सेवा बन्द भएकामा विशेषज्ञसहित चिकित्सकको टोली काममा फर्केपछि फेरि शल्यक्रियासहित विशेषज्ञ सेवा सञ्चालन भएको अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिए।
बागमती प्रदेशअन्तर्गतको ५० शय्या क्षमताको पशुपति चौलागाईँ स्मृति अस्पतालमा करारका कार्मचारीको म्याद नथप्ने प्रदेश स्वास्थ्य मन्त्रालयको पत्रपश्चात अस्पतालको सामान्यबाहेक अन्य सेवा बन्द थियो। अस्पतालमा अर्थाभाव देखाउँदै कर्मचारी कटौती गरे पनि अस्पताललाई निक साइमन नामक संस्थाले सहयोग गर्ने भएपछि एमजीडिपी चिकित्सक विनोद दङ्गालसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा आएसँगै शल्यक्रिया सेवा सञ्चालनमा आएको हो।
अस्पतालमा दुई दिनको अवधिमा ११ जनाको शल्यक्रिया गरिएको छ। अस्पतालले हालसम्म सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्दै आइरहेको छ। पशुपति चौलागाईँ स्मृति अस्पतालले हाल मातृशिशु कार्यक्रमअन्र्तगत प्रसूति सेवा, हर्निया, एपेन्डीसाइडलगायतका शल्यक्रिया गर्दै आएको छ।
पचास शय्या क्षमताको प्रदेशस्तरीय अस्पतलामा ७२ कर्मचारी कार्यरत रहेकामा नौ स्थायी स्वास्थ्यकर्मी रहेकामा दुई जना अध्ययन बिदामा रहेका छन्। ६३ जना करारका कर्मचारीको म्याद नवीकरण नभएपछि अस्पतालको सेवा बन्द भएको थियो।
दैनिक २४ घण्टा सञ्चालन हुने उक्त अस्पतालमा कुनै पनि व्यवस्था नगरी एकैपटक ६३ कर्मचारीको म्याद थप नहुँदा अस्पतालबाट प्रदान गरिने सेवा प्रभावित बनेको थियो। अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी न्यौपानेले बताए।












