Kathmandu Press

चुनावमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

चुनावमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं, साउन १३ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न झापाका पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

आज विर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई लोकप्रिय जनमत प्रदान गरेता पनि पार्टी पङ्क्ति पूर्णरुपमा एकताबद्ध हुन नसकेको गुनासो गरे । 

अध्यक्ष ओलीले भने, ‘आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टीमा लय मिलाएर चल्नुपर्छ, विरासत फर्काउन गाह्रो छैन ।’ उनले झापा आमूल परिवर्तनको आन्दोलनको उद्गम थलो भएको हुँदा यहीँबाट पार्टीले नयाँ युगको सुरुआत गर्न कार्यकर्ताले कम्मर कसेर लाग्नुपर्ने बताए  ।  

उनले पार्टीभित्र अराजकता र बेथिति बढेकाले सच्चिएर अगाडि बढ्नसमेत कार्यकर्तालाई आह्वान गरेका छन् । पार्टी अध्यक्षको गृहजिल्लाका रुपमा झापालाई देश र विदेशबाट समेत नियाँलिरहेको जनाउँदै उनले आउँदो निर्वाचनमा झापामा एमालेलाई हार्न छुट नभएको दाबी गरे । उनले व्यक्तिवादी र गुटगत प्रवृत्तिबाट माथि उठेर पार्टीको विधि, पद्धति र नीतिमा अडिग हुनुको विकल्प नरहेको बताए । 

नेकपा एमाले जनताले जन्माएर हुर्काएको पार्टी हो भन्दै उनले पार्टीलाई जिताउन अहिल्यैदेखि वैचारिक प्रशिक्षण चलाउनुपर्ने र मतदाता शिक्षा टोलटोलमा पुर्‍याउनुपर्ने सुझाव दिए । 

प्रकाशित मिति: २०:४९ बजे, शुक्रबार, साउन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्