Kathmandu Press

ओलीको राष्ट्रवाद कालापानी पुगेर समर्पणवादमा परिणत भयो : देउवा

पोखरा, मंसिर ६ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुगेर समर्पणवादमा परिणत भएको बताएका छन्।

....
ओलीको राष्ट्रवाद कालापानी पुगेर समर्पणवादमा परिणत भयो : देउवा

पोखरा, मंसिर ६ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुगेर समर्पणवादमा परिणत भएको बताएका छन्।

शुक्रबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रवाद चुनाव जित्ने खोल मात्रै बनाएको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा पुगेर समर्पणवादमा परिणत भएको छ,’ देउवाले भने, ‘लम्पसारवाद, अहिले कालापानीमा पुगेर त लम्पसारवाद भएको छ।’  सरकारले कालापानी समस्या कूटनीतिक तवरबाट समाधान गर्न नखोजेको उनको आरोप थियो।

नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदबाट पारित हुन नदिने बताए। प्रजातान्त्रिक मूल्य मान्यताविपरीत अध्यादेश ल्याउन खोजिएको उनको भनाइ थियो।

संवैधानिक परिषद्लाई पनि कठपुतली बनाएर सबै निकायमा एकलौटी गर्ने उद्देश्य अध्यादेश ल्याउन लागिएको देउवाको आरोप थियो।  ‘अख्तियारलगायत संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ती गरी सरकारले शाही आयोगजस्तो बनाउन लागेको छ,’ देउवाले भने।

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ पठाइएको भन्दै यो चिन्ताको विषय भएको बताए। प्रधानमन्त्री तानाशाह बन्न खोजेको उनको आरोप थियो।

प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, मंसिर ६, २०७६