पूर्वफुटबलर सन्दीप राई खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त
काठमाडाैं, साउन १३ : नेपाली राष्ट्रिय फुटबल टिमको पूर्व सदस्य तथा उपकप्तान सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन्।प्रदेश १...
काठमाडाैं, साउन १३ : नेपाली राष्ट्रिय फुटबल टिमको पूर्व सदस्य तथा उपकप्तान सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन्।
प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सन्दीपलाई शुक्रबार खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त गरेका हुन्। सन्दीपसँगै पूर्वफुटबलर प्रदिपकुमार भगत पनि सदस्य नियुक्त भएका छन्।
प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ को खण्ड (ङ) बमोजिम सन्दीप र प्रदीप सदस्यमा नियुक्त भएका हुन्। खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएपछि सन्दीपले नेपाली फुटबललाई आफूले गरेको योगदानको कदर भएको भन्दै खुशी व्यक्त गरेका छन्।
उनले आफूले सिकेको सिपलाई क्षमताले भ्याएसम्म खेलकुद विकास लगाउने पनि बताएका छन्। सन् २००८ बाट २०१५ सम्म नेपाली राष्ट्रिय टिमबाट खेलेका सन्दीप म्याच फिक्सिङमा मुछिएपछि फुटबलबाट टाढिएका थिए।
पूर्वकप्तान सागर थापा, गोलकिपर रितेश थापा, पूर्वडिफेन्डर विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसीसँगै सन्दीप पनि म्याच फिक्सिङमा मुछिएपछि उनीहरुलाई फुटबलमा आजीवन प्रतिबन्ध लागेको थियो।
'म्याच फिक्सिङ'मा सन्दीपसहित पाँचैजनाले सर्वोच्च अदालतबाट सफाई पाए पनि एएफसीले उनीहरुमाथिको आजीवन प्रतिबन्ध भने अहिलेसम्म हटाएको छैन।












