कश्मीरमा फेरि तनाव, राजधानी श्रीनगर बन्द
काठमाडाैं, मंसिर ६ : भारतका गृहमन्त्री अमित शाहले राज्यसभामा जम्मु–कश्मीर सामान्य बनेको जानकारी दिएको भोलिपल्ट तनाव सुरू भएको छ। आज बिहानैदेखि ज....
काठमाडाैं, मंसिर ६ : भारतका गृहमन्त्री अमित शाहले राज्यसभामा जम्मु–कश्मीर सामान्य बनेको जानकारी दिएको भोलिपल्ट तनाव सुरू भएको छ। आज बिहानैदेखि जम्मु–कश्मीरको राजधानी श्रीनगर बन्द गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, शुक्रबार बिहानैदेखि श्रीनगर बजार बन्द गरिएको छ। पसल र व्यापारिक प्रतिष्ठानहरू पुनः बन्द गरिएका छन्।
सार्वजनिक यातायात चलेको छैन। फाट्टफुट्ट निजी सवारी साधन चलिरहेको जनाएको छ। स्कुल, कलेज र विश्वविद्यालयमा बन्द रहेको जनाएको छ।
स्थानीय वासिन्दाले स्वस्फुर्त रुपमा बन्द गरेको भारतीय मिडियाले जनाएका छन्।
कश्मीर उद्योग तथा वाणिज्य संघका सभापति शेख आसिकले गृहमन्त्री शाहको भनाइ पछि बन्द भएको बताए। ‘हिजो बजार पूरै खुलेको थियो। गाडी पनि चलेका थिए। तर, गृहमन्त्रीले राज्यसभामा सबै ठीक छ भने आज विरोध गरिएको छ। बजार बन्द भएको छ, गाडी चलेका छैनन्,’ उनले भने, ‘गृहमन्त्रीले संसद्मा दिएको जानकारीको जवाफमा बन्द गरिएको हो।’
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु र कश्मीरको विशेष अधिकार खोसेपछि यो क्षेत्र तनावमै छ। कश्मीरका पाँच हजारभन्दा बढी नेता तथा अगुवालाई पक्राउ गरिएको छ। पूर्वमुख्यमन्त्रीहरु समेत पक्राउ गरिएका छन्।
त्यसयता कश्मीरको जनजीवन सामन्य बन्न सकेको छैन।
झन गृहमन्त्री शाहले सामान्य बनेको संसद्मा जानकारी दिएपछि भने कश्मीरका वासिन्दा विरोधमा उत्रिएका छन्। उनीहरुले आज बन्द गरेको हुन्।
आन्दोलन हुन सक्ने आशंकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।






