Kathmandu Press

राष्ट्रियसभामा सांसदको समान धारणा : गैरनागरिकले नागरिकता नपाऊन्

काठमाडाैं, साउन १२ : नेपालको राष्ट्रिय हित  र राष्ट्रियताको संवद्र्धन गर्ने हिसाबले नागरिकताविहीन नागरिकले मात्रै नागरिकता पाउने र गैरनागरिकले नागरिकता लिन नसक्ने प्रावधान...
राष्ट्रियसभामा सांसदको समान धारणा : गैरनागरिकले नागरिकता नपाऊन्

काठमाडाैं, साउन १२ : नेपालको राष्ट्रिय हित  र राष्ट्रियताको संवद्र्धन गर्ने हिसाबले नागरिकताविहीन नागरिकले मात्रै नागरिकता पाउने र गैरनागरिकले नागरिकता लिन नसक्ने प्रावधान राख्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा  ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै सांसदहरुले अङ्गीकृत नागरिकताको सन्दर्भमा कडा प्रावधान राख्नुपर्ने बताए।

छलफलमा भाग लिँदै सांसद बेदुराम भुसालले  वैवाहिक अङ्गीकृत नागरिकताका सन्दर्भमा समयावधि तोक्नुपर्नेमा जोड दिनुभयो । भारतमा नेपालका छोरी–चेली विवाह गरेर जाँदा सात वर्षमा मात्रै नागरिकता पाउने प्रावधान रहेको भन्दै नेपालमा पनि सोही खालको व्यवस्था गर्नुपर्ने बताए।

सांसद डा विमला राई पौडेलले अनागरिक युवालाई नागरिकता पाउनुपर्छ भन्नेमा आफू सकारात्मक भए पनि यो विधेयकका केही प्रावधान भने सच्याउनुपर्नेमा जोड दिए।

सांसद भैरवसुन्दर श्रेष्ठले विधेयक सम्बन्धित समितिमा पठाउनुपर्ने धारणा राख्दै वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा समयावधि तोकिनैपर्ने धारणा राखे।

सांसद खिमलाल भट्टराईले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकलाई नागरिकता प्रदान गर्ने विषयमा आफूहरूको समर्थन रहेको बताए। उनले पनि वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा समयसीमा राखिनैपर्ने उल्लेख गरे।

सांसद सुरेशकुमार आले मगरले नागरिकताको विषय राष्ट्रियतासँग पनि जोडिएकाले त्यसलाई स्पष्ट पार्नुपर्ने बताए। सांसद उर्मिला अर्यालले नागरिकको सन्दर्भमा सरकार जिम्मेवार हुनुपर्ने, प्रक्रियागतरूपमा पनि स्पष्ट हुनुपर्ने धारणा राखे।

सांसद जगप्रसाद शर्माले राष्ट्रियताको सन्दर्भमा कुनै पनि सम्झौता नगरीकन नागरिकको आवाजलाई सम्बोधन गर्न माग गरे। सांसद गङ्गा बेल्वासेले भौगोलिक, राजनीतिक र सांस्कृतिक हिसाबले संवेदनशील ठाउँमा रहेकाले नागरिकता दिने विषयमा खुकुलो प्रावधान राख्न नहुने बताए।

सांसद जितेन्द्रनारायण देवले संविधानअनुरुप नै नागरिकता विधेयक प्रस्तुत भएको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । सांसद मायाप्रसाद शर्माले अङ्गीकृत नागरिकताका सन्दर्भमा समयसीमा राख्नैपर्ने बताए।

सांसद प्रमिला कुमारीले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकका आधारमा सरकारले यो विधेयक ल्याएको र लामो समयदेखि नागरिकताविहीनलाई सम्बोधन गर्न खोजिएको धारणा राखे।

सांसदहरु भुवनबहादुर सुनार, गोपीबहादुर सार्की अछामी, खिमलाल देवकोटा, भगवती न्यौपाने तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, जयन्तीदेवी राई, तुलसाकुमारी दाहाल, उदयबहादुर बोहोरा, शेखरकुमार सिंह,लगायतले नागरिकताका विषयमा खेलाची नगर्न सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १६:३८ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्