Kathmandu Press

त्रिपालमुनि बस्छन् कैलालीका पहिरोपीडित, प्रदेश सरकार मुकदर्शक

कैलाली, साउन १२ : कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरु दुई...
त्रिपालमुनि बस्छन् कैलालीका पहिरोपीडित, प्रदेश सरकार मुकदर्शक

कैलाली, साउन १२ : कैलालीको चुरे गाउँपालिकाका पहिरो प्रभावित ३५० बढी परिवार पुनःस्थापना नहुँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । उनीहरु दुई वर्षदेखि चुरे–४ स्थित राष्ट्रिय वनमा अस्थायी टहरो बनाएर त्रिपालमुनि बस्दै आएका छन् । गत र अघिल्लो वर्षको साउनमा आएको पहिराले ती परिवार विस्थापित बन्न पुगेका थिए । गत कात्तिकको बेमौसमी वर्षाका कारण पहिरो खसेपछि उनीहरुको विचल्ली भएको हो ।  

 चुरे–४ मा पर्ने पनेरुगडा र टागगडाको राष्ट्रिय वनमा बसिरहेका ती परिवार हिउँद र वर्षायाममा कष्टकर जीवन बिताउँदै छन् । ती परिवारको व्यवस्थापनका लागि चुरेका जनप्रतिनिधिले प्रदेश सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराए पनि ध्यान जान नसकेको जनाइएको छ । 

विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिए। पहिराले जग्गाजमिन नै तहसनहस पारिसकेकाले पहिलेको ठाउँमा फर्कन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

चुरे गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर रोकामगरले पहिरापीडित लाई खानेपानी तथा खाद्यन्न समस्यामा परेको जानकारी दिए। गत वर्ष गाउँपालिकाले त्रिपाल सहयोग गरे पनि अन्य आवश्यक सहयोग गर्न नसकेको उनको भनाइ छ।

पहिराबाट विस्थापित भएकाहरू पुरानै स्थानमा फर्कन सक्ने सम्भावना छैन । उनीहरु बस्दै आएको पुरानो बस्ती पहिराले तहसनहस पारिसकेको छ। कतिपय गाउँको जमिन नै भासिएको छ। विस्थापित परिवार धेरै रहेकाले उनीहरूको व्यवस्थापन गर्न सक्ने अवस्था छैन। 

वडा नं १, २, ४, ५ र ६ का पहिराबाट विस्थापित भएर चुरे–४ मा पर्ने पनेरुगडा र टागगडामा बस्दै आएका छन् । कतिपय परिवार चुरे –५ स्थित भीमदत्त राजमार्ग छेउमा पाल टाँगेर बस्दै आएका छन् । उनीहरु बसेको स्थानमा पहिराले घर पुरेपछि विस्थापित भएर सो राजमार्ग छेउमा बस्न बाध्य भएका हुन्।

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, साउन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्