Kathmandu Press

पार्टीभित्र थुप्रै सुधारको आवश्यकता रहेको छ : नेता पौडेल 

पार्टीभित्र थुप्रै सुधारको आवश्यकता रहेको छ : नेता पौडेल 

काठमाडौं, साउन ११ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र थुप्रै सुधारको आवश्यकता रहेको बताएका छन् ।

बुधबार हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा लमजुङको सुन्दरबजार नगरपालिका–४ स्थित दुराडाँडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले अबको लोकतन्त्र आर्थिक विकाससहितको हुनुपर्नेमा जोड दिए ।  

‘काँग्रेसभित्र पनि थुप्रै सुधारको आवश्यकता छ । सुधार गर्न सकिएन भने यो व्यवस्थाले पनि जनतालाई सन्तुष्ट नबनाउन सक्छ’, उनले भने, ‘अबको लोकतन्त्र भनेको शासकीय स्वरुपमा मात्रै देखिने, आवधिक निर्वाचन हुने र निर्वाचन जित्नेले सरकार चलाउने सन्दर्भ मात्रै होइन । अबको लोकतन्त्र विकाससँग जोडिनुपर्छ ।’ उनले काँग्रेस नेपालको राजनीतिमा अब्बल समन्वयकारी क्षमता भएको पार्टी भएको पनि बताए ।

‘हामीले कसैलाई पनि निधेष गर्दैनौँ । समग्रमा अतिवादमा विश्वास नगरीकन उदार समाजको निर्माण गर्ने पक्षमा काँग्रेस छ’, उनले भने । बहुदलीय व्यवस्थालाई सुदृढ गर्ने व्यवस्थाको नेतृत्व काँग्रेसले गर्दै आएको उल्लेख गर्दै पौडेलले जनतालाई खुसी बनाउने काम गर्न पनि काँग्रेस नै अग्रसर हुनुपर्नेमा जोड दिए । त्यसका लागि जनताको  जीवन पद्धति सरल बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उनले हलो क्रान्तिका नायक तोयनाथ अधिकारीको तत्कालीन अवस्थाको योगदानको उच्च प्रसंशा समेत सो क्रममा गरेका थिए । पर्चा तथा जुलुस नगरिकन र हतियार नउठाइकन तरंग ल्याउने काम उनले तत्कालीन अवस्थामा गरेको उनको भनाइ थियो । 
 

प्रकाशित मिति: १८:३५ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्