Kathmandu Press

नारायणगढ-बुटवल सडक ठेक्का रद्द गरिएकाे बारे छानबिन गर्न सरकारलाई निर्देशन

काठमाडाैं, साउन ११ : प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ-बुटवल सडक आयोजना सम्पन्न हुने समयमा न्यून प्रगति भएको र आयोजनाको ठेक्का रद्द गर्नुपर्ने...
नारायणगढ-बुटवल सडक ठेक्का रद्द गरिएकाे बारे छानबिन गर्न सरकारलाई निर्देशन

काठमाडाैं, साउन ११ : प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ-बुटवल सडक आयोजना सम्पन्न हुने समयमा न्यून प्रगति भएको र आयोजनाको ठेक्का रद्द गर्नुपर्ने अवस्था आउनुको कारण छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले नारायणगढ–बुटवल सडक आयोजनाको अवधि सकिने अवस्थामा समस्टिगत प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको न्युन र निराशाजनक प्रगतिको कारणले आयोजनाको ठेक्का नै रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको बिषयमा छानविन गर्न सरकारलाई निर्देशन दिएको हो।

बैठकले मित्रराष्ट्रहरुको शर्तसहितको अनुदान र ऋण सहयोगमा निर्माण तथा स्तरोन्नति भइरहेको राष्ट्रिय स्तरका र अन्य सडक तथा पूर्वाधार निर्माणमा समग्र राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्झौताका शर्तहरुको तत्काल समीक्षा गरी पुनरावलोकन गर्न पनि निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए।

बैठकले अविरल बर्षाका कारण बिभिन्न स्थानका सडकहरु क्षति भएको भन्दै क्षतिग्रस्त सडक तथा पुलहरुको तत्काल मर्मत संभार गरि यातायात सेवालाई सहज रुपमा सूचारु गर्ने आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको सभापति खड्काले बताए।

बैठकले निर्माणाधीन अवस्थामा रहेको कर्णालीको कालिकोट–जुम्ला जोड्ने नाङ्मा पक्की पुल हालैको बर्षाले चर्किएकाले पुलको प्राविधिक पक्ष र गुणस्तरका सम्बन्धमा छानविन गरी पन्ध्र दिनभित्र प्रतिवेदन समितिमा पठाउन समेत निर्देशन दिएको खड्काले जानकारी दिए।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले सडक आयोजनाहरुलाई प्रभावकारी रुपमा अघि बढाइने बताए। बर्षाले क्षतिग्रस्त बनाएकार सडकहरुलाई पनि आवश्यक मर्मत सम्भार सुरु भइसकेको उहाको भनाई छ।

बैठकमा समिति सदस्यहरुले चाडपर्वहरु नजिकिदै गएको अवस्थामा देशका मुख्य राजमार्गहरुलाई सहि अवस्थामा राख्न सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: १८:०७ बजे, बुधबार, साउन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्