एसपिपीबारे अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन
काठमाडाैं, साउन ११ : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन...
काठमाडाैं, साउन ११ : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कार्यान्वयन नगर्ने विषयमा अहिलेसम्म अमेरिकालाई पत्राचार नगर्नुको कारणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एसपीपीका विषयमा विभिन्न निर्देशनहरु दिएको र कार्यान्वयनको अवस्थाका बारेमा सरकारसंग जानकारी माग गर्ने निर्णय गरेको हो।
समिति सभापति पवित्रा निरौलाले सरकारले एसपीपीबाट फिर्ता हुने निर्णय गरिसकेको अवस्थामा किन पत्रचार नगरिएको हो भन्ने पनि जानकारी माग गरिएको बताइन्।
त्यस्तै बैठकले सेनाका प्रधानसेनापति अस्ट्रेलियामा भैरहेको एक सम्मेलनमा भएको सहभागी भएको विषयमा पनि जानकारी माग गरिएको उनले बताइन्। तीनपटकसम्म एसपिपीका सम्बन्धमा भएका कागजात मगाईसकेको र प्राप्त नभएको उहाको भनाइ छ ।
बैठकमा समितिका सदस्य माधवकुमार नेपालले एसपिपिमा नेपाल सहभागी नहुने सरकारको निर्णयबाट फिर्ता हुने अवस्था नरहेको भन्दै सरकारको पत्र अमेरिकालाई पठाउन ढिलाइ भएको बताए।
त्यस्तै समिति सदस्य प्रकाशमान सिंहले यस विषयमा सबै कागजात मगाएर नै आवश्यक अध्ययन गर्नुपर्ने धारणा राखे। बैठकमा समितिका सदस्य ईश्वर पोखरेलले समितिले मागेको कागजात नपठाएर शंकाको घेरा उत्पन्न भएको तर्क गरे।
बैठकमा अधिकांश समिति सदस्यहरुले एसपिपिमा नेपाल सहभागी नहुने जानकारीको पत्र अमेरिकालाई पठाउन ढिलाइ हुनुको कारणबारे सरकारले प्रस्ट पार्नुपर्ने धारणा राखेका थिए।











