वाग्मती प्रदेशसभा : साढे चार वर्षमा ७० विधेयक पारित
हेटाैंडा, साउन ११ : वाग्मती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ। सो सभाबाट मूल विधेयक ५५ वटा...
हेटाैंडा, साउन ११ : वाग्मती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ।
सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन्। त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले भनेका छन्।
प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन विधेयक विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ। संघीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उनको गुनासो छ।
प्रदेशसभाको बैठक हालसम्म २ सय ८८ घण्टा २० मिनेट बसेको सो प्रदेशसभाले जनाएको छ। त्यसैगरी हालसम्म प्रदेशसभामा ११ वटा शुन्य समय तथा २९ वटा विशेष समयको कार्यक्रम राखिएको बताइएको छ।
मूलतः नीति कार्यक्रम र बजेट निर्माणमा केन्द्रित रहेको प्रदेशसभाको दसाैं अधिवेशनमा मूल विधेयक तीन वटा र संशोधन विधेयक तीन वटा तथा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक एक वटा पारित भएको सभामुख श्रेष्ठले बताए।
यस्तै तीनवटा प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताइएको छ।











