Kathmandu Press

संवैधानिक परिषद् अध्यादेश अघि बढाए सडक र सदनमा सशक्त आन्दोलन : देउवा

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एकाधिकार र अधिनायकवादी सोचका साथ संवैधानिक व्यवस्था विपरीत संवैधानिक परिषद् सम्....

संवैधानिक परिषद् अध्यादेश अघि बढाए सडक र सदनमा सशक्त आन्दोलन : देउवा

काठमाडौं, मंसिर ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एकाधिकार र अधिनायकवादी सोचका साथ संवैधानिक व्यवस्था विपरीत संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याए त्यसको सदन र सडकबाट प्रतिरोध गर्ने बताएका छन्।

सरकारले संवैधानिक परिषद्‍मा तीन जना सदस्य सहभागी भए गणपुरक हुने प्रावधान थपेर अध्यादेश ल्याउने तयारी गरिरहेका बेला कांग्रेस सभापति देउवाले त्यसलाई लोकतान्त्रिक व्यवस्था विपरीत र संविधानको मर्म विपरीत भएको बताएका हुन्। बिहीबार नेपाल ट्रेड युनियन कांग्रेसको प्रथम राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै देउवाले संविधान विपरीतका यस्ता कार्य सरकारले अघि बढाए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए। 

‘संवैधानिक व्यवस्था विरुद्ध गएर वर्तमान सरकारले एकाधिकारवादी र अधिनायकवादी सोचका साथ ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश कांग्रेसका लागि कुनै पनि हालतमा मान्य छैन’ देउवाले भने, ‘सरकारको यो कमद लोकतान्त्रिक व्यवस्था विपरीत हो। यसका विरुद्ध हामी सडक र सदन दुवैमा सशक्त प्रतिवाद गर्छौं।’

सरकारले सभाामुख र उपसभामुखका साथै प्रमुख प्रतिपक्ष दलका नेता सदस्य हुने संवैधानिक परिषदमा आफू अनुकूल बनाउन तीन जना सदस्य सहभागी भए गणपुरक हुने गरी ऐन संशोधन गर्ने तयारी गरेको छ। संवैधानिक परिषद्‍मा सभामुख र उपसभामुखका साथै प्रतिपक्षी दलका नेता अनुपस्थित हुँदा पनि निर्णय गर्न सक्ने गरी यस्तो संशोधनको बाटो सरकारले अघि सारको हो। सरकारको यो नियत लोकतन्त्रभित्र ‘चेक एण्ड व्यालेस’को सिद्धान्त विपरीत भएको पनि देउवाले बताए।

देउवाले राष्ट्रवादको नारा दिएर सत्तामा आएको सरकार कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको पनि बताए। ‘राष्ट्रवादी ओली सरकार अहिले कालापानीमा पुगेर लम्पसारवाद भएको छ’ देउवाले भने। देउवाले आफूले अघि सारेको सामाजिक सुरक्षा कोषको कार्यक्रम वर्तमान सरकारले गलत प्रचार गरेर आफूले ल्याएको भन्नु लज्जास्पद भएको पनि बताए।

‘मेरो नेतृत्वको सरकारले ल्याएको सामाजिक सुरक्षा कोषलाई आफूले ल्याएको भनेर गलत प्रचार गरेको छ’ देउवाले भने। 

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, मंसिर ५, २०७६