रासस सरकार र जनताको आँखा : अध्यक्ष पोखरेल
काठमाडाैं, साउन ११ : नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्रिय समाचार समिति (रासस) सरकार र जनताको आँखा भएकाले सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने...
काठमाडाैं, साउन ११ : नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्रिय समाचार समिति (रासस) सरकार र जनताको आँखा भएकाले सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
उनले सरकारले नागरिकको चाहना र आवश्यकता बुझ्ने र सरकारबाट अवलम्बन गरिएका कार्यक्रम तथा नीति जनतामाझ पस्किएर सचेत गराउने सन्दर्भमा राससले सरकारको आँखाका रुपमा काम गर्नुपर्ने बताए।
अध्यक्ष पोखरेलले भने, 'यो सरकारको आँखाका रुपमा रह्यो भने सरकारले आफ्ना जनताले के चाहेका छन् भन्ने कुरा बुझ्न सक्छ, त्यसैले समाजको आवश्यकता र नागरिकको चाहना बुझ्ने माध्यामका रुपमा संस्थालाई बुझ्नुपर्छ।'
उनले राससलाई नागरिकका सबै प्रकारका आवाजलाई सरकारले सुन्नसक्ने गरी काम गर्नुपर्ने सुझाव पनि दिए। राज्यबाट सञ्चालित भएपछि संस्था भए पनि समाजका विभिन्न गतिविधिलाई समाचारका माध्यामबाट सञ्चार संस्थासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने संस्था रासस भएको उल्लेख गर्दै उनले नागरिकका अभिव्यक्ति सरकारसम्म पुर्याउने र सरकारका कार्यक्रम, अवलम्बन गरेका नीतिका बारेमा जनतालाई सचेत गराउने कुरालाई राससले सन्तुलित ढङ्ले पस्किनुपर्नेमा जोड दिए।
अत्याधुनिक भवन निर्माण गरेर कार्य प्रारम्भ गरेकामा खुसी व्यक्त गर्दै अध्यक्ष पोखरेलले उक्त भवनको उपयोग गर्दै श्रमजीवी पत्रकार र कर्मचारीलाई काम गर्ने वातावरण बनाउन जरुरी रहेको औँल्याए। उनले श्रमजीवी तथा सबै कर्मचारीले सही ढंगले काम गर्ने अवसर प्रदान गरी संस्थाले कामको सम्मान गरिरहेको छ भन्ने अनुभूति दिलाउन जरुरी रहेको प्रतिक्रिया दिए।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले रासस भन्नासाथ आधिकारिक समाचारका लागि हो भन्ने विश्वास गरिने भएकाले यसको निष्पक्षता तटस्थतामा माथि कसैको प्रश्न नरहेको बताए। उनले अब बदलिँदो परिवेश र परिस्थिति तथा प्रविधिको परिवर्तनसँगै राससले आफैँलाई पनि परिवर्तन गर्नुपर्ने बताए।
उनले तटस्थता र निष्पक्षता कायम गर्ने विषयमा अझै क्रियाशील हुनु पनि सुझाव दिए। प्राध्यापक मोहनविक्रम थापाले रासस स्वतन्त्र र निष्पक्षतामा अझै गम्भीर हुन जरुरी रहेको बताए। उनले सत्यतथ्यमा आधारित भएर कुनाकाप्चाका समाचार सम्प्रेषणकोसमेत शुभकामना दिएका छन्।
सरकारको आधिकारिक समाचार समितिका रुपमा सुरुमा नेपाल संवाद समितिका रुपमा स्थापना भएको यो संस्थाको २०२८ सालमा ऐन संशोधन भयो र राष्ट्रिय समाचार समितिमा रुपान्तरण भएको हो। रासस स्थापना भएको ६१ वर्ष पुगेको छ।
‘सूचना र सञ्चार, जनताको अधिकार’ भन्ने मूलमन्त्रअनुसार राज्यले दिने सेवा र सरकारको कामका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना सप्रेषण र प्रचारप्रचार गर्दै आएको छ।
हाल राससले आफ्नो सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न केन्द्रीय कार्यालयसँगै सता प्रदेश कार्यालय र ११ वटा ठूला सहरमा कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरिरहेको छ।
राससको केन्द्रीय कार्यालय भवन २०७२ सालको भूकम्पले क्षति गरेपछि दैनिक कार्य सञ्चालन गर्नसमेत कठिनाइ भएकामा। सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) को सहयोगमा राससको नयाँ भवन पुनःनिर्माण भएको हो। २०७४ साउन २६ गते सम्झौता भई यहाँ दुई भवन निर्माण सम्पन्न भएका हुन्। यी चार÷चार तला रहेको दुई भवनमा ५६ वटा कोठा रहेको छ।
दुवै भवनमा मल्टी प्रपोज हल, दुई वटा लिफ्ट, एयर कन्डिसन र फायरफाइटिङ सिस्टमलगायत अन्य सुविधा रहेको छ। यी दुवै भवनको निर्माण गर्न रु १६ करोड ८६ लाख ५२ हजार १२२ रुपैयाँ खर्च भएको छ।











