राससको नवनिर्मित भवन खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बनोस् : मन्त्री चौधरी
काठमाडाैं, साउन ११ : शहरी विकास मन्त्री मेटमणि चौधरीले राष्ट्रिय समाचार समिति (रासस) को नवनिर्मित भवन सत्य तथ्य एवं खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी...
काठमाडाैं, साउन ११ : शहरी विकास मन्त्री मेटमणि चौधरीले राष्ट्रिय समाचार समिति (रासस) को नवनिर्मित भवन सत्य तथ्य एवं खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ।
राससको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज केन्द्रीय कार्यालय परिसरमा सम्बोधन गर्नुहुँदै उनले गुणस्तरीय समाचार सेवा प्रदान गर्न पनि अत्याधुनिक भवनले मद्दत पुग्ने बताए।
'संविधानको संस्थागत विकास र सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न पनि राससजस्ता संस्थाका माध्यमबाट सहयोग पुग्छ, समाजवादी अर्थतन्त्र निर्माणमा पनि राससबाट सहयोग हुने विश्वास लिएको छु,' मन्त्री चौधरीले भने।
२०७२ वैशाख १२ एवं २९ गतेको ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो।
भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभयो। प्रधानमन्त्री देउवाले नै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन्। चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ।
स्वदेश तथा विदेशका सत्यतथ्य, सन्तुलित र आधिकारिक समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति ९ससस० एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको हो।
राष्ट्रिय समाचार समिति ऐन, २०२८ अनुसार राष्ट्रिय संवाद समिति समाचार समितिमा परिणत भएको हो। राससका संस्थापक व्यवस्थापक आदित्यध्वज जोशीको नयाँसडकस्थित भाडाको घरबाट सुरु भएको रासस नयाँ सडकको पाको, गणबहाल हुँदै २०३१ देखि रासस प्लाजा भद्रकालीमा सञ्चालन हुँदै आएको छ।
राससले मूलधारका सबैजसो पत्रपत्रिका, रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन न्यूज पोर्टलहरूलाई समाचार सेवा प्रदान गर्दै आएको छ। राससले यही साउन १ गतेदेखि श्रव्यदृश्य सेवा पनि सुरु गरेको छ।











