संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको रिटमा आजदेखि सुनुवाई हुँदै
सुनुवाइका लागि चारवटा रिट निवेदन र तीसँग सम्बन्धित थप पाँचवटा पुरक निवेदनहरु पेसीमा परेका छन्।
काठमाडौं, साउन ११ : केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको परेका रिटमा आजदेखि सुनुवाई हुँदैछ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्ति लगायतका विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले बुधबार पेसी तोकेको हो।
संवैधानिक इजलासमा रहेको सो मुद्दामा सुनुवाइका लागि बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलास गठन गरिएको छ।
सुनुवाइका लागि चारवटा रिट निवेदन र तीसँग सम्बन्धित थप पाँचवटा पुरक निवेदनहरु पेसीमा परेका छन्।
अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा। दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाउ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।











