मंकीपक्स र हैजा नियन्त्रणमा लिन सरकारलाई एमाले सांसद भट्टराईको ध्यानाकर्षण
काठमाडाैं, साउन १० : विश्वव्यापी रुपमा फैलिएको मंकीपक्स र हैजा नियन्त्रणका लागि एमाले सांसद् योगेश भट्टराईले सरकारको ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभामा बोल्दै...
काठमाडाैं, साउन १० : विश्वव्यापी रुपमा फैलिएको मंकीपक्स र हैजा नियन्त्रणका लागि एमाले सांसद् योगेश भट्टराईले सरकारको ध्यानकर्षण गराएका छन्। प्रतिनिधि सभामा बोल्दै नेता भट्टराईले मंकीपक्स र हैजा नियन्त्रणमा सरकार उदासिन देखिएकाले सरकारको ध्यानकर्षण गराएका हुन्।
नेता भट्टराईले मंकीपक्सले विकसित देशलाई समेत हायल–कायल बनाएको अवस्थामा नेपाल सरकार मौन बसेको बताए। उनले विश्वमा १८ हजार १९४ जनामा संक्रमण देखिएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको बताए।
भारतमा समेत चार जनामा मंकीपक्स देखिएको बताउँदै नेपाल भयानक अवस्थाबाट टाढा नरहेको बताए । सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने उनले बताए ।
यस्तै, नेता भट्टराईले नेपालमा हैजाको संक्रमण बढ्दै गएकाले नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले हैजाको संक्रमण विस्तारै समुदायस्तरमा फैलिने क्रममा रहेकाले समयमै नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई अनुरोध गरेका छन्।
उनले जारको पानीसमेत शुद्ध नभएको भन्दै पानीका स्रोतहरु शुद्धिकरण गर्न सरकारले ध्यान दिनुपर्ने बताए। गाउँसम्म फैलिएमा महामारीकै रुप लिने भन्दै उनले समयमै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए।











