बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न प्रकरण : फुटेज हेरेपछि फरेन्सिक विज्ञसँग छलफल गर्दै छानविन समिति
मंगलबार बिहान बसेको बैठकमा सिसिटिभी फुटेज हेरेपछि समितिले फरेन्सिक विज्ञहरुसँग छलफल गर्न लागेको हो।
काठमाडौं, साउन १० : बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा छानविन गर्न बनेको संसदीय विशेष समितिले सिसिटिभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग छलफल गर्ने भएको छ।
मंगलबार बिहान बसेको बैठकमा सिसिटिभी फुटेज हेरेपछि समितिले फरेन्सिक विज्ञहरुसँग छलफल गर्न लागेको हो। विज्ञहरुसँग छलफल गरिसेकपछि समितिको बैठक अपरान्ह ४ बजे बस्ने छ।
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो । रिपोर्टमा सिसिटिभी फुटेज कहिलेदेखि कहिलेसम्मको छ भन्ने खुलेको छैन। त्यसमा कात्तिक १४ गतेको फुटेज छ कि छैन भन्ने पनि खुलेको छैन ।
मन्त्रालयले सिसिटिभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने बताएपछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सिसिटिभी फुटेज पनि समितिले झिकाएको थियो ।











