संसदीय विशेष समितिमा प्रहरीले बुझाएको अर्थमन्त्रालयको सिसिटिभी फुटेज हेरिँदै
मन्त्रालयले सिसिटिभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने बताएपछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो ।
काठमाडाैं, साउन १० : बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा छानविन गर्न बनेको संसदीय विशेष समितिमा अहिले नेपाल प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा संग्लन सिसिटिभी फुटेज हेरिँदै छ।
नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो । रिपोर्टमा सिसिटिभी फुटेज कहिलेदेखि कहिलेसम्मको छ भन्ने खुलेको छैन। त्यसमा कात्तिक १४ गतेको फुटेज छ कि छैन भन्ने पनि खुलेको छैन ।
मन्त्रालयले सिसिटिभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने बताएपछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सिसिटिभी फुटेज पनि समितिले झिकाएको थियो ।
आर्थिक वर्ष २०७९र८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।
यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।











