पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड
काठमाडाैं, साउन ९ : साउनको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ।पशुपतिनाथ मन्दिरमा बिहान पानी परेका बेला कम भक्तजन जम्मा भएकामा....jpg)
काठमाडाैं, साउन ९ : साउनको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ।
पशुपतिनाथ मन्दिरमा बिहान पानी परेका बेला कम भक्तजन जम्मा भएकामा पानी रोकिएसँगै पशुपति क्षेत्रमा सङ्ख्या बढ्न थालेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको थियो।
पशुपतिनाथ मन्दिरमा गतहप्ताभन्दा भारतीय पर्यटक पनि बढेका छन् । केही भारतीय स्वामीहरुले आज पशुपतिनाथको दर्शन गरेका थिए। जुना अखडाका स्वामी यतीन्द्रानन्द, राष्ट्रिय स्वयंसेवक सङ्घका उपप्रमुख इन्द्रेशकुमार, भारतको केही प्रान्तका पूर्वमुख्यमन्त्रीहरुले समेत आज पशुपतिनाथमा दर्शन गरेकाे उनले बताए।
पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीको पनि उल्लेख्य सहभागिता रहेको थियो। सुन्दरीजलबाट शुद्ध जल लिएर आई बोल बम यात्रीले पशुपतिनाथ मन्दिरमा अर्पण गरेका थिए।
बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउन चाहनेको चार ढोकामध्ये एक ढोकामा व्यवस्था गरिएको थियो। साउनको सोमबार भगवान् शिवलाई शुद्ध जलमात्र चढाए पनि खुसी भई मनकामना पूरा हुने धार्मिक विश्वास छ। साउन भगवान् शिवजीको महिना मानिन्छ।
सोमबारलाई भगवान् शिवको बारका रुपमा मानेर भक्तजनको विशेष भिड लाग्ने गरेको हो। साउनको सोमबार विशेषगरी महिलाले व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ।
यसो गरेमा विवाहिता महिलाले अटल सौभाग्य एवं अविवाहिता महिलाले सुयोग्य वर पाउने धार्मिक मान्यतासमेत रही आएको छ। यसै मान्यताका आधारमा साउनको सोमबार देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड लाग्छ।
राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत काठमाडौँ उपत्यकाका शिवालयमा पनि भक्तजनको भिड लागेको छ। यस वर्ष साउन महिनामा पाँच सोमबार परेका छन् ।











