डब्लुएचओले भन्यो– दक्षिण पूर्वी एसियामा मंकीपक्स बढ्यो, शतर्कता अपनाउनुस्
काठमाडौं, साउन ९ : दक्षिण–पूर्वी एसिया देशहरूलाई मंकीपक्सको संक्रमण बढ्न थालेपछि विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले सतर्कता अपनाउन आग्रह गरेको छ।एक विज्ञप्ति जारी गर्दै डब्लुएचओले...
काठमाडौं, साउन ९ : दक्षिण–पूर्वी एसिया देशहरूलाई मंकीपक्सको संक्रमण बढ्न थालेपछि विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले सतर्कता अपनाउन आग्रह गरेको छ।
एक विज्ञप्ति जारी गर्दै डब्लुएचओले संक्रमण द्रुत गतिमा फैलिएकाले शतर्कता अपनाउन र स्वास्थ्यका मपदण्ड अपनाउन डब्लुएचओका दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा. पुनम खेत्रपालले अपिल गरेका छन्।
‘मंकीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो’, डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
डब्लुएचओका अनुसार विश्वमा ७५ देशका १६ हजारमा मंकीपक्सका सङक्रमण पुष्टि भएका छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ।
भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीं बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मंकीपक्स सङ्क्रमण पुष्टि डब्लुएचओले जनाएको छ ।
‘विश्वव्यापीरुपमै र यस क्षेत्रमा मंकीपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलिने सम्भावना भने छ,’ डा. खेत्रपाल सिंहलेले भनेका छन्, ‘साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मंकीपक्स संक्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ।’
डब्लुएचओले मंकीपक्स संक्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमार्फत जनस्वास्थ्य आपत्कालको घोषणा गरिएको हो।
प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्यांकन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ।
मंकीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्यसंस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन्।











