Kathmandu Press

अछाममा पहिरोले पुरिएका तीनै जनाको मृत्यु

मंगलसेन, साउन ९ : अछामको तुर्माखाँदमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जना मृत भेटिएका छन्।गएराति अछामको तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको...
अछाममा पहिरोले पुरिएका तीनै जनाको मृत्यु

मंगलसेन, साउन ९ : अछामको तुर्माखाँदमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीनै जना मृत भेटिएका छन्।

गएराति अछामको तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पहिरोले पुरिएको थियो। पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए।

आज बिहान पहिरो पन्छाउँदा तीनै जना मृत अवस्थामा भेटिएको वडाध्यक्ष नरेन्द्रबहादुर शाहीले बताए। उनका अनुसार ४५ वर्षीया हरिकला विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्टको शव भेटिएको हो। तीनै जना एकै परिवारका सदस्य हुन्।

पहिरोमा घाइते भएका एक जनाको भने राति नै स्थानीय बासिन्दाले उद्धार गरेका थिए। उनको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

गएराति १ बजे पहिरो गएको वडाध्यक्ष शाहीले बताए। राति नै उद्धारमा जुटेको भए पनि पहिरो पन्छाउन नसकिएको उनको भनाइ छ।

उनीहरुले राति नै प्रहरीलाई खबर गरेका थिए। तर, दुर्गम भएकाले प्रहरी टोली आज बिहानसम्म पनि घटनास्थल पुग्न सकेको छैन। राति नै प्रहरी टोली पठाएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए।

प्रकाशित मिति: ०८:२० बजे, सोमबार, साउन ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्