सल्लाघारी दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत
काठमाडौं, साउन ९ : भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनै जनाको...
काठमाडौं, साउन ९ : भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडक छेउको रूख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।
आइतबार दिउँसो काठमाडौँबाट यात्रु बोकेर दूधपाटी हुँदै कमलविनायक जाँदै गरेको बा २ ख ३५८४ नंको बस र दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नंको स्कुटरलाई ढलेको रूखले किच्दा बसमा सवार दुई तथा स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासीका २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाहीको हरिवन नगरपालिका–४ का ४५ वर्षीय राजकुमार भुजेल रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।
दुर्घटनामा घाइते हुनेहरुमा भक्तपुर–१० कमलविनायकका १९ वर्षीय रितिक वासुकला, चाँगुनारायण नगरपालिका–४ चाँगुका १८ वर्षीया निशा लिगल, काठमाडौं महहानगर–१०, बुद्धनगरका ६८ वर्षीय पदमप्रसाद योजु, रामेछापको दोरम्वा गाउँपालिका–७ घर भई हाल सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक बस्ने १६ वर्षीय आकाश वाइवा र भक्तपुर नगरपालिका–७ का १८ वर्षीय सिम्रन लागेजु छन्। उनीहरुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ।
त्यसैगरी उदयपुरको लिचुङ्गु गाउँपालिका–१ भई हाल काठमाडौंको स्वयम्भु बस्ने ४१ वर्षीय नीलबहादुर राई, पर्वतको जलजला गाउँपालिका–७ घर भई हाल काठमाडौंको शङ्खमूल बस्ने १९ वर्षीय समीर आचार्य, पाँचथरको याङ्गवरक गापा–३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बू, पाँचथरको याङ्गवरक गाउँपालिका–३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बू, पर्वतको फलेवास नगरपालिका–२ घर भई हाल काठमाडौंको वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर–८ जेलाकी ४८ वर्षीया लक्ष्मी दुवाल पनि घाइते भएकी छन्। उनीहरुको भक्तपुर इन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ।











