छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

काठमाडाैं, साउन ८ : ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताएकी छन।
अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उनले महिलाले कानूनीरूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गरिन।
महिलाको सम्पत्तिमा अधिकार कानूनीरूपमा प्राप्त भए पनि अझै पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको उनले उल्लेख गरिन। उनले भनिन, 'सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न सकिरहेका छैनन्।'
आफैँले पनि अध्ययन सुरु गरेदेखि राजनीतिमा संलग्न हुँदासम्म पटक पटक विद्रोह गरेको मन्त्री भुसालले बताइन। छोरीले पढ्नु हुँदैन भन्ने समयमा विद्यालय हुँदै उच्च शिक्षा लिनु आफैँमा विद्रोह भएको उनले उल्लेख गरिन। छोरी मान्छे भएर राजनीतिमा संलग्न भएर जेलमा पर्दा समाजले स्वीकार नगरेको उनको भनाइ छ। उनले भनिन, 'कुनै राम्रो काम गर्दा पनि छोरीले गरी भनेर होइन छोराजस्तो गरेको भन्ने गरेको पाइन्छ।'
सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले साहित्यमा सधैँ महिला कति आए र कति टिकेभन्दा विषयवस्तुमा गहन छलफल बाँकी रहेको औँल्याइन। प्राध्यापक सन्तोष परियारले आचार्यले सामाजिक यर्थाथवादी तर विद्रोही आख्यान लेखेकाे उल्लेख गरिन।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले युवाले कुनै पनि विषयवस्तुको थोरै बुझेर हलुका टिप्पणी गर्न छाडेर गहन अध्ययन गर्नुपर्नेमा जोड दिइन। स्रष्टा आचार्यले शिक्षित वर्गले समेत छोरी मान्छेले गर्न सक्छन् भनी विश्वास नगरेर छोरीको सफलतालाई शङ्काका दृष्टिले हेरेको बताइन।











