Kathmandu Press

ट्रयाक खोलिएको झन्डै तीन दशकपछि कालोपत्र हुँदै

सुर्खेत, साउन ८ : ट्र्याक खुलेको झण्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–बेनीघाट सडक खण्ड कालोपत्र हुने भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड...
ट्रयाक खोलिएको झन्डै तीन दशकपछि कालोपत्र हुँदै

सुर्खेत, साउन ८ : ट्र्याक खुलेको झण्डै तीन दशकपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–बेनीघाट सडक खण्ड कालोपत्र हुने भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त खण्ड प्रदेश सरकारको लगानीमा स्तरोन्नति गर्न लागिएको हो। 

यो पश्चिम सुर्खेतको मुख्य सडकमा पर्दछ। वर्षौंसम्म सडक स्तरोन्नति नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले सास्ती भोग्दै आएका थिए। विसं २०५१ सालमा उक्त सडक खण्डको ट्र्याक खोलिएको थियो। पूर्वाधार विकास निर्देशनालयले प्रदेश सरकारको रु ४२ करोड ४७ लाख ६१ हजार लागतमा बड्डीचौरदेखि खम्बागाडेसम्म १२ किमी सडक कालोपत्र गर्न लागिएको जनाएको छ।

बड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि सडकको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० बनिसकेको थियो। पूर्वाधार विकास निर्देशनालयले कालोपत्रका लागि निर्माण कम्पनी एएनके जयदेवी जेभी बाँकेसँग सम्झौता गरिसकेको छ।

सम्झौताअनुसार २०८१ असार २४ गतेसम्म सडक कालोपत्रको काम सम्पन्न गर्नुपर्नेछ। यही साउन ४ गते सोही क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सडक स्तरोन्नति कार्यका शिलान्यास गर्नुभएको थियो। मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ। 

राजमार्ग आयोजनाले काममा ढिलासुस्ती गरेपछि उक्त खण्डमा पर्ने करिब १३ किमी सडक प्रदेश सरकारले स्तरोन्नति गर्न थालेको हो। मन्त्री बुढाक्षेत्रीले जीर्ण र कच्ची सडकका कारण यात्रुले सास्ती पाएको भन्दै तोकिएको समय अगावै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए। निर्माण व्यवसायी दिक्पाल शाहीले ट्र्याक सुधार, नाली निर्माणलगायतका काम पूरा गरेपछि कालोपत्रको तयारी गर्ने बताए। 

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, साउन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्