सांसदद्वारा कोभिडका विषयमा श्वेतपत्र जारी गर्न माग
काठमाडाैं, साउन ८ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेकी छन्।सदनको विशेष समयमा सांसद...
काठमाडाैं, साउन ८ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा. डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेकी छन्।
सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरिन्। उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरे।
उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराइन्। बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा कार्यक्रम रोकेको उनले बताए।
सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ मार्ग अघि बढाउन र चीनसँग आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ गरी समृद्धिका लागि बलियो पूर्वाधार तयार पार्न ध्यानाकर्षण गराए। बालाजु–रानीपौवा–पिपल्टार पासाङल्हामु राजमार्ग निर्माणकार्य उतारचढावका बीच अहिले अलपत्र अस्थामा पुगेकाले तत्काल निर्माण कार्यलाई तीव्रता दिन उनले आग्रह गरे।
सांसद रामबाबु यादवले पीडित किसानका लागि राज्य उदासिन भएको बताए। उनले किसान मल मागिरहेको तर राज्यले मल दिन नसक्नु दुःखद भएको बताए। साउन दोस्रो हप्ता आउँदा पनि पानी नपरेर कृषि कर्ममा लागेका किसान छटपटाइरहेका र रोपेका धानखेत सुक्न थालेको बताए।
सांसद हृदयेश त्रिपाठीले आर्थतन्त्रको अवस्था कमजोर हुँदै आएको बताए। मल नपाउँदा उत्पादनमा कमी आउने देखिएकाले गार्हस्थ उत्पादनमा ध्यान दिन आग्रह गरे। सांसद अतहर कलाम मुसलमानले नागरिकता विधेयकका सम्बन्धमा अभिव्यक्ति दिँदा सचेत हुनुपर्नेमा जोड दिए। राष्ट्रहितमा नागरिकता विधेयक अघि बढेको पनि उनले बताए।
सांसद दिलकुमारीले रौतहटमा दाइजोका कारण बिहे भएको २७ दिनमा नै महिलाको हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीको माग गरे। सांसद गंगा चौधरीले सीमा सुरक्षामा सरकारको ध्यान नपुगेको बताए।











