भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरमाथि रुख ढल्दा ३ जनाको मृत्यु
ठिमीबाट भक्तपुरकाे दुधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९७८ नम्बरको स्कुटरमाथि भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारीमा रुख ढलेको हो।
काठमाडौं, साउन ८ : भक्तपुरको सल्लाघारीमा गुडिरहेको बस र स्कुटरमाथि रुख ढल्दा ३ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।
मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।
काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा२ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६१प ३९६८ नम्बरको स्कुटरमाथि भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारीमा रुख ढलेको महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको इमामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अहिले नेपाली सेना, नेपाल प्रहरी, स्थानीयले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ। ढलेको ठुलो रुख भएकाले हटाउन केही समय लाग्ने जनाइएको छ।
प्रहरी नायब उपरीक्षक पाण्डेले घाइतेको सङ्ख्या अझै बढ्नसक्ने बताउनुभयो। धेरै वर्ष पुरानो रुख आज दिउँसो १२ बजेपछि चलेको सामान्य हावाले नै ढालेको स्थानीयको भनाइ छ।











