७३ बुँदे कार्ययोजना : भ्रमण दशक मनाउने तयारीदेखि विदेशी साथी नेपाल पठाऊ अभियानसम्म
सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्ने, हिमाल आरोहणका लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिलचुलीहरुको आरोहण खुल्ला गर्ने मन्त्रालयले जनाएको छ।
काठमाडाैं, साउन ८ : सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउन आवश्यक तयारी अघि बढाउने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि २०२३ देखि २०३३ को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउन आवश्यक तयारी अघि बढाउने जनाएको हो। पर्यटकको नेपाल बसाईलाई थप सुरक्षित बनाउन क्राइसिस मेनेजमेन्ट युनिट स्थापना गरी सञ्चाल गर्ने मन्त्रालयको योजनामा छ।
त्यस्तै सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्ने, हिमाल आरोहणका लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिलचुलीहरुको आरोहण खुल्ला गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने, सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने, नेपालको पदयात्रा तथा पर्वतारोहणलाई थप सुरक्षित बनाउन जिपिएस ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याउने, अन्तर प्रादेशिक हवाई सेवा विस्तार गर्ने लगाएका योजना सार्वजनिक गरेको छ।
कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको बिकास, पुनरुत्थानका लािग ७३ बुँदे कार्ययोजना सार्वजनिक गरिएको बताए। कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रमा परेको असरलाई न्युनिकरणका लागि कार्ययोजनाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले पर्यटन व्यवसायीलाई पनि प्रवर्धन गर्ने काम गरिने धारणा राखे।
पर्यटन पुनरुत्थानका ७३ बुँदे कार्ययोजनामा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु रहेको भन्दै यसको कार्यान्वयनमा विशेष जोड दिइने उनले बताए। मन्त्री श्रेष्ठले नेपालको बायुसेवालाई संसारको सवै सञ्जालमा पुराउनका लागि इयुको कालोसूचीबाट हटाउन छलफल भइरहेको जानकारी दिए।
मन्त्रालयले सार्वजनिक गरेको योजनामा पर्यटन नीति २०६५, हवाई नीति २०६३, पर्यटन ऐन, २०३५ लगाएतलाई संशोधन गर्ने उल्लेख छ भने काठमाडौं उपत्यका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्नेगरी सम्पदा मार्ग निर्माण गर्ने पनि योजनामा उल्लेख गरिएको छ।
सरकारले १० लाख पर्यटनक भित्राउने गरि कार्यक्रम सञ्चालन गर्नेगरि विभिन्न योजना बजेटमार्फत पनि सार्वजनिक गरिसकेको छ।











