पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा राप्रपा
काठमाडाैं, साउन ७ : राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ।शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले...
काठमाडाैं, साउन ७ : राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ।
शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्ने धरातलीय यथार्थ मध्यनजर गर्दै उक्त अवधारणा अघि सारेको हो।
संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र सर्वधर्म समभाव,पूर्ण धार्मिक स्वतन्त्रता सहितको बैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पुनस्थापना, प्रदेशको खारेजी र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनामा प्रतिवद्ध रहेको राप्रपाले जनाएको छ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रुपमा सम्पन्न गर्न निष्पक्ष चुनावी सरकार माग गर्दै राप्रपाले वर्तमान व्यवस्था अनुसार कै निर्वाचन प्रणालीमा भाग लिएर आफ्नो मुद्धा स्थापीत गर्ने समेत निर्णय गरेको छ।
बैठकले अत्याधिक महङ्गीका कारण आम सर्वसाधारण प्रताडित भएको अवस्थामा उपभोग्य बस्तुको मूल्यबृद्धि नियन्त्रण गर्न र बजारको प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था मिलाउन, निजी अस्पतालमा पनि स्वास्थ्य बीमाको उपचार सुविधा दिन, मलखादको व्यवस्था गर्न पनि उहाले सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै बैठकले एसपीपी फिर्ता पठाउनेबारे आफ्नै निर्णय अनुसार सरकारले अहिलेसम्म अमेरिकालाई पत्राचार नगरेकामा आपत्ति जनाएको छ भने बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्र, आगामी कार्ययोजना तथा प्रतिवेदनहर संशोधनसहित पारित गरेको राप्रपाले जनाएको छ।











