दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सक्दैन : नेपाल
काठमाडाैं, साउन ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने बताएका छन्।कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
काठमाडाैं, साउन ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने बताएका छन्।
कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसका अवसारमा आज (शनिबार) आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवर्द्धन हुने कुरा सम्भव नहुने बताएका हुन्।
‘राजनीतिमा विकृतिहरू, विसंगति, व्यक्तिवादी प्रवृत्ति देखा परेको छ, भ्रष्ट प्रवृत्ति देखिरहेको छ, तिनलाई निमिट्यान्न पारेर अघि बढ्नु आवश्यक छ,’ उनले भने, ‘दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्सान पुर्याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवर्द्धन हुने कुरा सम्भव छैन।’
उनले मुलुकसामु अहिले पनि धेरै चुनौती रहेको तर डराउनुपर्ने अवस्था नभएको बताए। ‘हामीले नेपालको इतिहासका पानाहरू निर्माण गरेका छौं। इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छौं। कसैले असम्भव ठानेका कुरालाई सम्भव तुल्याएर देखाएका छौं,’ उनले भने, ‘खास गरेर पुष्पलालबाट दीक्षित भएका हामीले नेकपा एकीकृत समाजवादी क्रान्तिकारी पार्टी खोलेका छौं, जसले छुट्टै अस्तित्व देखाएको छ।’











