‘लक्ष्य अनुसार विकास परियोजनामा प्रगति हुन सकेन’
काठमाडौं, मंसिर ४ : एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा देशका विभिन्न भागमा सञ्चालित विकास–निर्माणका परियोजनाले लक्ष्य अनुसारको प्रगति....

काठमाडौं, मंसिर ४ : एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा देशका विभिन्न भागमा सञ्चालित विकास–निर्माणका परियोजनाले लक्ष्य अनुसारको प्रगति गर्न नसकेको पाइएको छ।
एडिबीको ऋण सहयोगमा सञ्चालित आयोजनाबारे बुधबार भएको समीक्षा बैठकमा सन् २०१९ का लागि निर्धारण गरिएको लक्ष्य पूरा हुन नसकेको बैंकका प्रतिनिधिले गुनासो गरेका हुन्।
अर्थसचिव शिशिर ढुंगानाले ५४ प्रतिशत ठेक्का सम्झौता हुँदा ५५ प्रतिशत रकम निकासा भएको तथ्यांक सार्वजनिक हँुदा गल्ती भएको भन्दै सबै पक्ष मिलेर लक्ष्य हासिल गर्नेतिर लाग्न आग्रह गरे।
परियोजना कार्यान्वयन गर्ने सबै निकायलाई इमानदारीपूर्वक आफ्नो उत्तरदायित्व निर्वाह गर्न आह्वान गर्दै उनले परियोजनासँग सम्बन्धित कामलाई द्रुतगतिमा कार्यान्वयन गर्न अर्थमन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
बैठकमा एडिबीका देशीय निर्देशक मुख्तोर खामुद खानोभले विगतका अनुभव र अवरोधबाट पाठ सिक्दै निर्धारित वार्षिक लक्ष्य हासिल गर्ने दिशामा दत्तचित्त भएर लाग्नुको विकल्प नरहेको बताए।
नेपाल सरकारसँग निकट सम्पर्कमा रहेर आगामी चार वर्षका लागि बैंकले ‘नेपाल साझेदारी रणनीति’ हालै सार्वजनिक गरेको भन्दै उनले वार्षिक सहायता रकममा भारी वृद्धि भएको बताए।
बैंकका प्रबन्धक रुडी भान डेलले बैंकको ऋण सहयोगमा सञ्चालन भएका परियोजनाको विस्तृत विवरण पेश गर्दै केही परियोजनाको प्रगति नीतिगत र प्राविधिक समस्याका कारण सन्तोषजनक हुन नसकेको गुनासो गरे।










-1754206481.jpg)
