आज प्रेस युनियनको महाधिवेशन, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं, साउन ६ : सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशन आज हेटौंडामा शुरु हुँदै छ।बागमती प्रदेशको राजधानी...
काठमाडौं, साउन ६ : सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारको संस्था नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशन आज हेटौंडामा शुरु हुँदै छ।
बागमती प्रदेशको राजधानी हेटौंडामा शुरु हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आज बिहान १० बजे उद्घाटन हुने युनियनले जनाएको छ।
महाधिवेशनका लागि ७७ वटै जिल्ला शाखाका प्रतिनिधि हेटौंडा पुगेका छन्। यस्तै, उपशाखा, काठमाडौं उपत्यका समिति, विभिन्न प्रतिष्ठान र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक पुगिसकेको युनियनले जनाएको छ।
महाधिवेशनमा एक हजार ६ सय ५० जनाको सहभागिता रहने जनाइएको छ। उनीहरुले ३३ पदाधिकारीसहित १४२ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन्।
दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ता हुने र भोलि निर्वाचन हुने कार्यक्रम तय गरिएको छ।
अध्यक्षमा अनिता विन्दु र शिव लम्सालबीच प्रतिस्पर्धा हुने देखिएको छ। संस्थापन पक्षबाट विन्दु र संस्थापनइतर पक्षबाट लम्साल उम्मेदवार बन्ने भएका हुन्।











