मनसुनी वायुले आज पनि देशभर वर्षाको सम्भावना
काठमाडौं, साउन ६ : मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागका अनुसार मनसुनको न्यून...
काठमाडौं, साउन ६ : मनसुनी वायुको प्रभावले आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसले गर्दा हाल देशभर सामान्य बदली रहेको छ।
अहिले देशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।











