एसपीपीमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनबारे संसदमा जानकारी गराउन सभामुखको रुलिङ
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्लेगरेको निर्णय कार्यान्वयनबारे संसदमा जानकारी गराउन रुलिङ गरेका छन्।
काठमाडौं, साउन ५ : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्लेगरेको निर्णय कार्यान्वयनबारे संसदमा जानकारी गराउन रुलिङ गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बेठकमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपी नगर्ने निर्णयको कार्यान्वयनबारे प्रश्न उठाएपछि सरकारलाई जवाफ दिन रुलिङ जारी भएको हो।
रुलिङ गर्दै सभामुख सापकोटाले भने, ‘एसपीपीको विषयमा मेरो ध्यानकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु।’
बिहीबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपी सम्झौता नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेपनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेको भन्दै आवाज उठाएका थिए। उनले सभामुखबाट रुलिङको माग गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले पनि एसपीपीबारे सभामुको रुलिङ माग गरेका थिए।






